ताजा समाचार

विप्लवको पार्टीले भन्यो, ‘बम आक्रमण हामीले गरेका हौं, आज साँझदेखि बन्द हुन्छ’

काठमाडौं, २१ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिएको छ । चुनाव अवधिभर भएका बम आक्रमण आफूहरुले गराएको दाबी गर्दै विप्लव पार्टीले आजदेखि बम हमला रोकिने बताएको छ ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले बम आक्रमणका घटनाको जिम्मेवारी लिँदै आज साँझदेखि रोकिने बताए । विप्लवले बम बिष्फोटनलाई प्रतिरोधका घटनाको संज्ञा दिएको छ । मतदान सकिएपछि बम बिष्फोटनका सबै कार्यक्रम फिर्ता पुनले बताए । उनले भने– ‘देशभर प्रतिरोधका घटना हाम्रो नेतृत्वमा भएका हुन्, चुनाव खारेजी अभियानको नेतृत्व हामीले गरेको हुनाले सबै घटनाको जिम्मा हामी लिन्छौं ।’

बम विष्फोटनमा एक म्यादी प्रहरीको मृत्यु भएको तथा निर्दोष सर्वसाधारण तथा उम्मेदवारहरुको ज्यान लिने प्रयास भएको सन्दर्भमा विप्लब समूहले कुनै आत्मालोचना गर्न चाहेको छैन ।

सो समूहका नेता पुनले प्रतिरोध अभियानका क्रममा कतिपय त्यस्ता घटना भएको हुन सक्ने बताए । उनले वम विष्फोटनका घटनामा भगौडा सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको स्वीकार गरे । तर, युद्धकालमा माओवादीकै आह्वानमा सेना प्रहरीको जागिर छाडेर जनयुद्धलाई सघाएकाहरुलाई भगौडा भन्न नमिल्ने पुनको तर्क छ ।

उनले भने– ‘हिजो प्रचण्ड र वर्षमान पुनहरुकै आह्वानमा जागिर छाडेर जनयुद्धलाई सघाएका सेना प्रहरीलाई भगौडा भन्न मिल्दैन । उनीहरु अहिले प्रतिरोध अभियानमा छन्, बम विष्फोटनका घटना आज साँझदेखि रोकिने समेत प्रष्ट पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org