ताजा समाचार

सांसदमा निर्वाचित भएलगत्तै विना मगरको पहिलो यस्तो घोषणा (घोषणासहित)

कञ्चनपुर, २५ मंसिर । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विना मगरले स्थानीय तहमा सहायता कक्ष स्थापना पर्ने पहिलो घोषणा गरेकी छन् । सांसदमा निर्वाचित भएलगत्तै मतदातालाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित सांसद बिना मगरले निरन्तर जनसम्पर्क स्थापित गर्न स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने घोषणा गरेकी हुन् ।

मतदातालाई सम्बोधन गर्दै जारी गरिएको धन्यवाद ज्ञापन पत्रमा लेखिएको छ, ‘तपाईहरूसँग निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिने प्रतिवद्धता समेत पुनः जाहेर गर्न चाहन्छु ।’

निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिवद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्नेमा जोडदिएकी छन् । उनले भनेकी छन्, ‘स्थानीय, प्रदेश र केन्द्र सरकारमा वाम गठबन्धनकै नेतृत्व हुने भएकाले विकास गर्न सहज हुनेछ । ३ वटै तहबीच आवश्यक समन्वय गरेर विकासको सपनालाई मूर्तरुप दिनुपर्नेमा म दृढ छु । संसद र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने विषय मेरा लागि प्रमुख हुने छन्,’ धन्यवाद पत्रमा लेखिएको छ ।

‘मानसिक रुपमा जटिल परिस्थिति र स्वास्थ्य अवस्था अनुकूल नभएका बेला तपाई आमाबुबा, दाजुभाई, दिदीबहिनी लगायतबाट मैले पाएको साथ जीवनभर बिर्सिने छैन,’ धन्यवाद पत्रमा लेखिएको छ । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भएकी छन् ।

बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाएकी छन् । ८८ हजार ५९ मतदाता रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org