ताजा समाचार

देशकै सबैभन्दा सुरक्षित सिंहदरबार भित्रबाटै सरकारी गाडीको टायर चोरी

काठमाडौं, २ पुस । सिंहदरबार भित्रबाटै सरकारी गाडीको टायर चोरी भएको छ । देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिएको सिंहदरबार भित्रबाटै गाडीको टायर चोरी भएको हो । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएका हुन् ।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर पुर्‍याएर सिंहदरबारभित्रै पार्किङ गरेका थिए । तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको छ । आइतबार विहान प्रमुख शर्मालाई लिनका लागि पार्किङमा आइपुग्दा चारवटै टायर नभेटेपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भने चोरी कार्य ड्राइभरहरुबाटै हुनसक्ने आशंका गरेको छ ।

अरुलाई गाडीका पार्टपूर्जा सम्बन्धी जानकारी नहुँने भएकोले ड्राइभरहरुले नै यस्तो गरेको हुनसक्ने प्रहरीको भनाइ छ । चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ । सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको सिंहदरबारबाट चोरी भएको यो घटना भने पहिलो होईन् । यसअघि पनि कहिले ल्यापटप त कहिले मोबाइल चोरी नभएका होईनन् । तर गाडीकै टायर चोरी भएको भने यो पहिलो पटक हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org