ताजा समाचार

ईपीएल क्रिकेटको उद्घाटन खेलमा ललितपुर विजयी, काठमाडौं ७ विकेटले पराजित

काठमाडौं, ३ पुस । काठमाडौंमा आजदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको पहिलो खेलमा ललितपुर प्याट्रिअट्स विजयी भएको छ । कीर्तिपूरस्थित किर्तिपुर क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा ललितपुरले काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । विदेशी खेलाडीको बाहुल्यता रहेको ललितपुरको जितमा ब्याटिङ र बलिङ दुवैमा निर्णायक प्रदर्शन गरे ।

काठमाडौंले दिएको ९० रनको सामान्य लक्ष्य राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोली ललितपुरले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । ललितपुरका लागि भारतीय ब्याट्सम्यान जयकिसन कोल्सावालाले सर्बाधिक अविजित ४४ रन बनाए । ओपनर कोल्सावालाले ४८ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे ।

ललितपुरका लागि कप्तान मल्लले पनि २० रन बनाए । अर्का ओपनर पवन सर्राफ खाता नखोली आउट भएपछि मल्ल र कोल्सावालाले दोस्रो विकेटका लागि ५४ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ललितपुरका लागि अर्का भारतीय खेलाडी योगेश नागरले २ रनमात्र बनाउँदा राजवीर सिंहले अविजित १४ रन बनाए ।

काठमाडौंका लागि मेरेनागे फर्नाण्डोले २ तथा सोमपाल कामीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८९ रन बनाएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org