ताजा समाचार

यी हुन्, एमालेसँग वाम एकता हुनेविक्तिकै विद्रोहको तयारीमा बसेका माओवादी नेताहरु

काठमाडौं, ५ पुस । एमाले र माओवादीबीचको पार्टी एकिकरणको चर्चाले  नेताहरु दुई ध्रुबमा बाँडिएका छन् । चुनाव लगत्तै पार्टी एकिकरण गरेर जाने बताउँदै जनताबाट जनमत प्राप्त गरिसकेका एमाले-माओवादीभित्र अहिले अाएर पक्ष विपक्षका स्वरहरु बाहिरिन थालेका छन् । माओवादी केन्द्रका केही नेताहरुले त पार्टीभित्र विद्रोहको तयारी नै गरेका छन् ।

एमालेभित्र पनि पार्टी एकताको विपक्षमा केही नेताहरु भएपनि उनीहरु त्यति खुल्न सकेका छैनन् । तर माओवादी केन्द्रमा भने पार्टी एकता हुनेविक्तिकै विद्रोहको तयारीमा केही नेताहरु बसेका छन् । पार्टी हेडक्वार्टरले एमालेसँगको एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउने निर्णय गरेकै बेला माओवादी केन्द्रभित्र भने एकताको विषयलाई लिएर चरम असन्तुष्टि बढेको हो ।

असन्तुष्ट समूहले भरसक एकता प्रयास विफल पार्ने वा नसके पार्टी एकताको विरोध गर्दै बाहिरै बस्ने रणनीति लिएको छ । एकता विरोधीको समेत दुई खेमा छ । एक खेमाको नेतृत्व गोपाल किराती र अर्को खेमाको नेतृत्व विश्वभक्त दुलाल ‘आहूति’ ले गरेका छन् । पार्टी एकता गर्न नहुने भन्ने तर्क पनि दुई नेताको फरक–फरक छ ।

किरातीले एमालेसँग एकताको कुरा गर्दा नेतृत्वले माओवाद र पहिचानको मुद्दा अलपत्र पारेर एमालेमा समाहित हुन खोजेको आरोप लगाएका छन् । आहूतिले भने माओवादी एमालेमा मिसिनुलाई ‘परम्परागत संसदीय भासमा फस्नु’ भएको तर्क गर्दै एकता प्रयासबारे विमति राख्दै आएका छन् ।

किरातीले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको घोषणा भएलगत्तै माओवादी केन्द्र पुनगर्ठन गर्ने भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यतिबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले माक्र्सवाद र पहिचानको मुद्दा नछाडेको बताएपछि उनी फर्किएका थिए । यद्यपि पछिल्लो समय उनी पार्टीको सक्रिय गतिविधिमा छैनन् । सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकमा समेत किराती गएनन् ।

आहूति माओवादीमा माक्र्सवादको गहिरो शास्त्रीय अध्ययन गरेका वैचारिक नेता हुन् । उनले वषौंदेखि आदरपूर्वक नेता मान्दै आएका नारायणकाजी श्रेष्ठ भने पार्टी एकताका सूत्राधार बनेका छन् । श्रेष्ठ कुनै हालतमा एकता भाँडिन नहुने भन्दै गोरखा–२ बाट निर्वाचनमा पराजित भएपछि पनि एकता प्रयासलाई सार्थक निस्कर्षमा पुर्‍याउन सक्रिय भएका छन् । आफूहरुको असहमतिबीच पार्टी एकता भए त्यसमा सहभागी नहुने निस्कर्षमा किराती र आहूति पुगेका छन् ।

http://news-nepal.com/712662-2/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org