ताजा समाचार

अंग्रेजी नयाँ वर्ष आजदेखि सुरु, यो संवत वैज्ञानिक नभएको विज्ञको दाबी

काठमाडौं, १७ पुस । आजबाट अंग्रेजी नयाँ वर्ष २०१८ सुरु भएको छ ।जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो ।अंग्रेजी नयाँ वर्ष पछिल्लो समय युरोप र अमेरिकासँगै विश्वका अधिकांश देशहरुमा मनाउन थालिएको छ ।

सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवतसम्बन्धी अनुसन्धानमा लागेको डा. शास्त्रदत्त पन्त बताउँछन् । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवम् ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघि देखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा गएराति प्रमुख पर्यटकीय केन्द्र ठमेलमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । सांगीतिक कार्यक्रममा सयौँ युवा, विभिन्न पेसाका नागरिकलगायतले मनोरञ्जन लिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org