ताजा समाचार

ओली बिनाको बालुवाटार बैठकमा सुवास नेम्वाङ र कृष्ण सिटौलाबीच घम्साघम्सी

काठमाडौं, २० पुस । सरकारले अब चाँडै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न गरेको प्रस्तावमा एमालेले असहमती जनाएपछि सरकार आफैले तोक्ने भएको हो । प्रधानमन्त्री देउवाले बुधबार विहान बालुवाटारमा राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

बैठकमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए । तर, वाम गठबन्धनका नेताहरुले भने राजनीतिक सहमति जनाउन अस्वीकार गरेपछि सरकार आफैंले तोक्ने गृहकार्य अगाडी बढाएको हो ।

देउवाले बोलाएको बैठकमा एमाले अध्यक्ष केपी ओली अनुपस्थित थिए । त्यहाँ उपस्थित सुवास नेम्वाङसहित नेताहरुले यो छलफल नै गर्न चाहेनन् । उनीहरुले प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने काम सरकारको भएको बताएका छन् ।

एमाले नेताहरुले त्यसअघि नै गर्नुपर्ने काममा सरकारले विलम्ब गरेको भन्दै असन्तुष्टि जनाएका छन् । लगत्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले एमाले आफैंले सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने भनेकाले राजनीतिक सहमति गर्नु परेको हो भनेका थिए ।

केही दिनअघि आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले देउवा सरकारले प्रदेश प्रमुख नियुक्त गरे सपथ नै नलिने बताएका थिए । देउवाले बोलाएको बैठकमा एमाले अध्यक्ष ओली अनुपस्थित भएपनि एमालेका भीम रावल, विष्णु पौडल र सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरेका छन् ।

केही दिनयता झाडापखालाबाट अस्वस्थ भएका एमाले अध्यक्ष ओलीलाई घरमै आराम गर्न चिकित्सकले सुझाव दिएकाले ओली आजको बैठकमा सहभागि नभएको ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए ।

त्यस्तै संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागि भएनन् । यादव सप्तरीतर्फ गएकाले उनी पनि बैठकमा अनुपस्थित बनेका छन् । राजपाका तर्फबाट बैठकमा महन्त ठाकुर सहभागि छन् भने माओवादीका अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादल लगायतका नेताहरु सहभागि थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org