ताजा समाचार

देउवालाई एक वर्षभित्रै सभापतिबाट हटाउने गगन थापाको तयारी

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसभित्र अहिले नेतृत्व परिवर्तनको बहस चलिरहेको छ । निर्वाचनमा भएको कांग्रेसको पराजयपछि उक्त बहसले उग्र रुप नै लिएको छ । युवा नेताहरुले जसरी भएपनि पार्टी सभापति शेरबहादुर देउवालाई हटाउने मनसाय बनाएका छन् ।

यो निर्वाचनमा पार्टीले नराम्रो पराजय व्यहोर्नुको प्रमुख कारण नै नेतृत्वको अक्षमता र अदुरदर्शीता कारण देखाउँदै युवा नेताहरुले गुट भेला आह्वान गरिरहेका छन् । देउवालाई सार्वजनिक रुपमै हटाउनुपर्ने अभिव्यक्ति दिएर चर्चामा आएका युवा नेता गगनकुमार थापाले अबको नेतृत्व आफूले नै लिने समेत बताउँदै आएका छन् ।

त्यसको लागि कांग्रेसमा “अर्ली महाधिवेशन” बोलाउने पक्षमा युवा पुस्ताका नेताहरु सक्रिय भएर लागेका छन् । त्यसको नेतृत्व थापाले गरेका छन् । पहिले केन्द्रिय कार्यसमिति बैठक बोलाउनुपर्ने र चुनावको गम्भिर समिक्षा गर्नुपर्ने उनीहरुको जोड छ । त्यस्तै महासमिति बैठक बोलाउने र महाधिवेशन बोलाउने अनि देउवालाई हटाउने युवा नेताहरुको तयारी रहेको नेताहरुले बताएका छन् ।

नेता धनराज गुरुङका अनुसार पार्टीमा अब तीन वटा विकल्प रहेको छ । पहिलो कन्द्रिय समिति बोलाएर हारको समिक्षा गर्ने, अनि दोस्रो महासमिति बोलाउने र तेस्रोमा अर्ली महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्ने । त्यस्तै उनले गगनले अबको पार्टीको नेतृत्व आफूले लिने पनि उद्धघोष गरिसकेको जानकारी दिए ।

थापाले युवा नेताहरुको एक गोप्य भेलामा भनेका छन्,“एक वर्षभित्र देउवा हट्छन्, म नै सभापति बन्छु, अरुले कांग्रेस हाँक्न सक्दैनन् । साथीहरुले यो मौका नगुमाऔं, अब कांग्रेस बनाउने मौका आएको छ ।” युवा नेताहरुको यो जनमतलाई पार्टीका केही शीर्ष नेताहरुले पनि साथ दिएको जनाईएको छ । तर सभापति देउवाले भने हारको जिम्मेवारी आफुले मात्र लिएर नहुने बताउँदै आएका छन् । निर्वाचनमा आफु पराजित हुने अनि दोष जति आफुलाई लगाउने भन्दै जो पराजित भएको उनीहरुले नै समिक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org