ताजा समाचार

गएराति घाँटी रेटेर लुहार दम्पतीको हत्या प्रयास

कञ्चनपुर, २१ पुस । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडा सार्कीपार्की टोलका एक लुहार दम्पतीको हत्या प्रयास भएको छ । अपांगता भएका अन्जाजी ४० वर्षीय गोविन्द लुहार र उनकी ३५ वर्षीया श्रीमती सरस्वती लुहारको गएराति घरभित्रै घाँटी रेटेर हत्याको प्रयास भएको हो ।

दुवै घाइते बेहोस अवस्थामा घरभित्रै फेला परेको झलारी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लालमणि जोशीले जानकारी दिए । घटनास्थलमा चक्कु र घन फेला परेको प्रहरीले जनाएको छ । दुवैजनाको घाँटी र टाउकामा गम्भीर चोट लागेको छ । सो घटनामा संलग्नको खोजीका लागि प्रहरीले अनुसन्धान थालेको छ ।

बेहोस अवस्थामा फेला परेका घाइते दम्पतीलाई स्थानीय बासिन्दाको सहयोगमा उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्‍याइए पनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि कैलाली पठाइएको छ ।

दुवै दम्पतीको उपचारका लागि रु १५ हजार बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले उपलब्ध गराउनुका साथै सो घटनाको सत्यतथ्य छानबिनका लागि माग गर्नुभएको छ । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org