ताजा समाचार

उत्तर कोरियाले पनि पठायो दक्षिणलाई वार्ता टोलीको नाम

सोल, २३ पुस । उत्तर कोरियाले उच्चस्तरीय वार्ता टोलीको नाम दक्षिण कोरियालाई पठाएको छ । दक्षिण कोरियासँग गर्ने तय भएको उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियाले आफ्नातर्फका वार्ता टोलीका सदस्यको नाम पठाएको हो ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले उत्तर कोरियाले पनि आफ्नातर्फका वार्ता टोलीका सदस्यको नाम दक्षिण कोरियालाई पठाएको जानकारी दिएको छ । सो वार्ता टोलीमा पाँच सदस्य रहेका छन् र सो टोलीको नाम हालै स्थापित सिधा सन्चार सम्पर्क (हट लाइन कम्युनिकेशन) मार्फत पठाइएको हो ।

यसअघि पनि हिजो शनिबारमात्र दक्षिण कोरियाका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारीको नाम दक्षिण कोरियाले पनि उत्तरको जानकारीका लागि पठाएको थियो ।

सो नामपछि उत्तर कोरियाका तर्फबाट पनि सो वार्ता टोलीमा सदस्यको नाम दक्षिण कोरियाको जानकारीका लागि पठाइने अपेक्षा गरिएको थियो । सो अपेक्षा बमोजिम नै उत्तरले पनि आइतबार सो नामावली पठाएको जनाएको छ ।

आगामी हप्ता यी दुई देशबीच उच्चस्तरीय वार्ता हुने भएको छ । उत्तर कोरियाको एक एजेन्सीका प्रमुख रहेका रि सुन गाउनको नेतृत्वमा सो नामावाली दक्षिणलाई उत्तरले पठाएको छ । गाउनको नेतृत्वमा सहभागी हुने पाँच जना सदस्यको नाम नै उत्तरले सार्वजनिक गरेको हो ।

उक्त हटलाइन सेवा करिब दुई वर्षपछि पहिलोपटक गत बुधबारमात्र पुनःस्थापना गरिएको हो । जसका कारण यी दुई देशबीचमा आगामी दिनमा वार्ता र सौहार्दताका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मंगलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । सोही बमोजिम तयारी भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधनपछि परिस्थिति फेरिएको छ । उनको सो सम्बोधनमा दक्षिण कोरियाले गरेको उक्त उच्चस्तरीय द्विपक्षीय वार्तामा उत्तर कोरिया सहभागी हुने संकेत आएको थियो ।

त्यसयता यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । साथै दक्षिण कोरियामा आयोजना हुन लागेको फेब्रुअरी महिनाको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनको स्वागत गर्दै वार्ताका लागि तयारी थाल्न सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन् । सोही वार्ताका लागि शनिबार दक्षिण कोरियाले सदस्यहरूको सूची उत्तरलाई पठाएको हो । त्यसैगरी, उत्तर कोरियाले पनि आफ्नातर्फका सदस्यको सूची सार्वजनिक गरेपछि वार्ता अगाडि बढ्ने अपेक्षा गरिएको छ । रासस/एएफपी

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org