ताजा समाचार

यी हुन् बाम गठबन्धन फुटाउन प्रचण्डलाई उचाल्नेहरु (नामावलीसहित)

काठमाडौं, २३ पुस । यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकताको तयारीमा छन् । एमाले माओवादी पार्टी एकता गर्ने भन्दै चुनावी तालमेल गरेर चुनावमा होमिएका थिए । उनीहरुको घोषणा जनताले समेत अनुमोदन गरेर स्पष्ट जनमत दिईसकेका छन् । त्यही अनुरुप एकता प्रक्रिया अगाडि बढिरहेको छ ।

एमाले माओवादीकै भाषामा भन्ने हो भने अब पार्टी एकता भएरै छोड्छ । तर यो एकता हुन नदिन देशभित्रका र बाहिरका शक्तिहरु लागिपरेको वाम गठबन्धनका शीर्ष नेताहरुले बताउँछन् । वाम गठबन्धन तोड्न नेपाली कांग्रेस, मधेशवादी दलहरु र भारत डटेरै लागेको वाम गठबन्धनका नेताहरुको आरोप छ । नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठबन्धन उनीहरुलाई फुटाउन सक्रिय भएर लागेका छन् ।

वाम गठबन्धन फुटाए मधेशी दलको राजनीतिक स्वार्थ पूरा हुनेः
वाम गठबन्धनलाई फुटाएर आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न मधेसवादी गठबन्धन सक्रिय देखिएको एमाले माओवादी नेताहरुको आरोप छ । संविधान संशोधनको मुद्दा अघि सारेका राजपा र संघीय फोरमले विगतमा आफ्नो पक्षमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई आफ्नो समर्थन हुने बताउँदै आएका छन्।

विगतमा संविधान संशोधनको विपक्षमा रहेको एमालेसँगको गठबन्धनबाट प्रचण्डलाई टुटाउँदा आफ्नो मुद्दा अघि बढ्ने विश्वास फोरम र राजपाले गरेका छन्। पार्टी एकीकरणको प्रक्रियामा रहेकै समयमा शनिबार राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेस र मधेसीको अधिकार पूरा गर्ने सवालमा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा माओवादी अध्यक्ष प्रचण्ड सकारात्मक रहेको बताए।

‘मैले पहिले पनि भनेको छु, आज पनि भन्छु, संघीयता समावेशी समानुपातिक पक्षमा काम गरेका लिडर भनेको दाहाल नै हो’ झाले भने ‘ मधेस र मधेसीको अधिकारका लागि ओलीभन्दा दाहाल सकारात्मक रहेकाले दाहाल नै नयाँ सरकारको प्रधानमन्त्री हुँदा राम्रो हुन्छ।’

कांग्रेस भारतको इशारामा परिचालनः
वाम गठबन्धन बनाएर चुनावमा होमिएपछि त्यसको असर नेपाली कांग्रेसलाई पर्‍यो । सबैभन्दा ठूलो दल कांग्रेस थोरै सिटमा खुम्चिन बाध्य भयो । त्यही हारको बदला लिन कांग्रेस वाम गठबन्धनलाई जसरी पनि अलग गराउने खेलमा लागेको हो । नेपालमा स्थिरता नचाहने भारत पनि वाम गठबन्धनसँग रुष्ट छ ।

उसले यो गठबन्धनलाई पटक्कै रुचाएको छैन् । र गठबन्धनलाई जसरी पनि समाप्त पार्ने खेलमा लागेको छ । त्यसको लागि भारतले नेपाली कांग्रेसलाई हतियार बनाएको छ । कांग्रेसलाई परिचालन गरेर वाम गठबन्धन जसरी पनि भत्काउने योजना भारतको छ । यो कुराको पछिल्लो समय नेपालका लागि भारतीय राजदूतले देखाएको सक्रियताले पनि पुष्टि हुन्छ ।

भारतीय राजदूत मञ्जित सिंह पूरीले पछिल्लो समय शीर्ष राजनीतिक दलका नेताहरुसँगको भेटघाटलाई बढाएका छन् । पूरीले एमाले बाहेकका राजनीतिक दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, राजपा र संघीय समाजवादी फोरमका नेताहरुसँगको भेटमा एमालेलाई बाहिर राखेर सरकार गठन गर्न आह्वान गरेका छन् । उनको आग्रह बमोजिम नै कांग्रेस र मधेशवादी दलहरुले माओवादीलाई गठबन्धनबाट बाहिर आएर पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव राखेका थिए । तर माओवादीले उक्त प्रस्ताव सिधै अस्विकार गर्दै आएको छ ।

प्रचण्डलाई गठबन्धन फुटालेर आउन भन्दै उचाल्नेहरुमा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता अमरेशकुमार सिंह, राजपा नेता राजेन्द्र महतो, कांग्रेस नेता डा. शेखर कोईराला, भारतीय ‘रअ’ प्रमुख अनिल धसमाना, भारतीय राजदूत मञ्जिभ सिंह पूरी लगायतका रहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org