ताजा समाचार

निर्वाचनमा सरकारले दिएको भन्दा आधा कम खर्च, अब बाँकीको के गर्ने ?

काठमाडौं, २३ पुस । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड बढी खर्च भएको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनमा सो बराबरको खर्च भएको जनाएको छ ।

निर्वाचनका लागि सरकारले १० अर्ब दिएको थियो । जसमध्ये ३० करोड पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो भने ९ अर्ब ७० करोड निर्वाचन कार्यका लागि छुट्टाइएको थियो । आयोगका अनुसार २१ पुससम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ रुपैयाँ मात्र खर्च भएको छ । यो कुल बजेटको ५७.९६ प्रतिशत हो ।

खर्च गरिएको रकम मध्ये ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रुपैयाँ ७७ जिल्लामा निकासा भएको छ भने आयोगको केन्द्रीय कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६९१ रुपैयाँ खर्च भएको छ ।

सरकारले दिएको बजेट मध्ये अब ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७०० रुपैयाँ बाँकी रहेको र यही रकमबाट राष्ट्रियसभा र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचनमा २ लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो भने ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएका थिए । साथै १६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org