ताजा समाचार

काभ्रेपछि धादिङमा रहेका ओम र नमस्ते ग्यास उद्योगमा नापतौल विभागको सिल, कारण यस्तो छ

काठमाडौं, २३ पुस । सरकारले धादिङमा रहेका दुई ग्यास उद्योगमा सिल गरेको छ । काभ्रेका तीन ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको दुई दिनपछि गुणस्तर तथा नापतौल विभागले धादिङमा रहेका दुई ग्यास उद्योगमा सिल गरेको हो ।

आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि विभागको अनुगमन टोलीले आइतवार धादिङको बैरेनीमा सञ्चालित नमस्ते ग्यास उद्योग प्रालि र धाक्रेको ओम ग्यास उद्योग प्रालिमा शिल गरेको विभागका केमिकल इन्जिनियर मनिष कर्णले जानकारी दिए ।

दुईवटै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात र लिखित जवाफसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमनको क्रममा ओम ग्यास उद्योग प्रालिले एलपीजी सिलिण्डरको ‘टेर वेट’ परिक्षण नगरेको पाइएको थियो । हरेक १० वर्षमा सिलिण्डरको हाइड्रोस्टेटिक परिक्षण गर्नुपर्ने भए पनि त्यसो नगरी पुरानै सिलिण्डरमा नयाँ पेन्ट गरेर बजारमा पठाएको विभागले जनाएको छ ।

त्यस्तै, नमस्ते ग्यास उद्योग प्रालिले पनि भल्भ मर्मत नगरेको तथा गुणस्तर र तापतौलका मापदण्ड पूरा नगरेको पाइएको थियो । आइतबार नै विभागले धादिङकै सुगम ग्यास उद्योगमा पनि अनुगमन गरेको थियो ।

गुणस्तर तथा नापतौल विभागले पछिल्लो समय ग्यास उद्योगहरुको अनुगमन बढाएको छ । त्यसक्रममा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा आएको पाइएपछि विभागले गत शुक्रवार काभ्रेका सागर ग्यास, सूर्य ग्यास र चण्डी ग्यासका उद्योग बन्द गरेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org