ताजा समाचार

पूरा हुँदै कलंकी–कोटेश्वर सडकखण्ड, अबको ६ महिनापछि काठमाडौं जाम मुक्त

ललितपुर, २८ पुस । तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक/दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपाई काठमाडौं उपत्यकाबाहिर ओहोर–दोहोर गरिरहनुहुन्छ भने दशौंपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर, अब भने त्यो समस्याबाट भुक्ति पाउनुहुने भएको छ ।

चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलोपटक ८ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ । ६ महिनामा नै सक्ने योजनाका साथ काम अघि बढेको हो । सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौं उपत्यकाबाहिर सहजरुपमा ओहोर–दोहोर गर्न सकिन्छ । यो सडकखण्डमा ७५ प्रतिशतभन्दा बढी काम सकिएको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।

उनकाअनुसार कोटेश्वरदेखि धोबीघाटसम्मको साइड लेनको कालोपत्र गर्ने कार्य सकिएको छ । रेटेनिङ वाल, सवारी कुद्ने पुल र आकाशेपुल निर्माण सम्पन्न भइसकेको छ । केही ठाउँको कार्य भने अन्तिम चरणमा पुगेको छ ।

‘कोटेश्वरदेखि धोबीघाटसम्म दुवैतिर मुख्य लेनमा कालोपत्र गर्ने कार्य भइरहेको छ । खसीबजारदेखि कलंकीसम्मको ‘अन्डर पास’ को काम पनि भइरहेको छ । फुटपाथ र सर्भिसमार्गको काम अघि बढेको छ’–उनले भने –‘तीव्रगतिमा काम भइरहेकाले केही समयमा नै सकिनेछ ।’

चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले पाएको छ । पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माणकार्य सक्नुपर्ने हुन्छ ।

यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन् । अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन् । ‘यो सडकखन्डको निर्माणमा करिब ६० जना नेपाली र २०० चिनियाँ कामदार खटिएका छन्’–उनले भने–‘हामीले मुख्य गरेर अरु निकायसँग समन्वयको काम नै गरिरहेका छौं ।’

मुख्य लेन, सहायक मार्ग र सर्भिसमार्ग गरेर १० लेनको सडक निर्माण भइरहेको हो । चक्रपथ छिर्ने विभिन्न सडकहरु यो सडकखन्डमा पर्छ । यी सडकमा चक्रपथबाहिर निस्कने सडक कुन निकायले कालोपत्र गर्ने भन्ने टुंगो लागेको छैन । परियोजनासँग यी सडकमा काम गर्ने सम्झौता थिएन । एक अर्ब लगानीमा यो सडकको निर्माणकार्य भइरहेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org