ताजा समाचार

नेपाली नागरिक लक्ष्मीसुन्दर गाईन्जूलाई श्रीलंकामा ‘नागरिक वीरता स्वर्ण पदक’

काठमाडौं, २८ पुस । नेपाली नागरिक लक्ष्मीसुन्दर गाईन्जू श्रीलंकामा ‘नागरिक वीरता स्वर्ण पदक’द्वारा सम्मानित भएका छन् । गाईन्जूलाई श्रीलंकाको राजधानी कोलम्बोमा शुक्रबार आयोजित विशेष समारोहमा त्यहाँका सभामुख करु जयसूर्याले सम्मान गरेका हुन् ।सो सम्मान पाउने गाईन्जू पहिलो नेपाली नागरिक हुन् ।

नेपालमा विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा आफ्नो ज्यानको परवाह नगरी सर्वसाधारणको उद्धार गरे बापत गाईन्जूलाई सो पदकद्वारा सम्मानित गरिएको हो । गाईन्जूले उक्त दिन भक्तपुरको जेँला टोलमा भूकम्पले घर भत्किएर च्यापिएका आठ परिवारका २१ जनाको जीवितै उद्धार गरेका थिए । उनी भूकम्पपछि निरन्तर पीडितको सेवामा खटिँदै आएका छन् ।

“गाईन्जूको काम साँच्चै नै प्रशंसनीय छ र त्यो अरुलाई पनि उत्प्रेरित गर्ने उदाहरण बनोस् भनेर पदक प्रदान गर्न पाउँदा आफूलाई ठूलो सन्तोष मिलेको छ,” सभामूख जयसूर्याले भने । उक्त कार्यक्रममा मनोनयनकर्ताका तर्फबाट विशेष रुपमा आमन्त्रित डा. दिनेशराज भुजुले नेपालमा आएको भूकम्प र त्यतिखेर स्वयंसेवी युवाले पू¥याएको थुप्रै उदाहरण भएको बताए । ‘गाईन्जू ती असल र हिम्मति युवाहरुको प्रतिनिधि पात्र हुन्,’ उनले भने ।

विश्वका विभिन्न देशमा बेला–बखतमा प्राकृतिक बिपद्हरु आइरहने र त्यस्तो अवस्थामा स्वयंसेवाको भावनाले उत्प्रेरित भएर ज्यान बचाउन लागिपर्ने असल नागरिकको सम्मान गर्ने परम्परा बसाउन बिगत पाँच वर्षदेखि सो पुरस्कार प्रदान गरिँदै आएको नागरिक वीरता संस्थाका संस्थापक अध्यक्ष कसुन चन्द्ररत्नेले बताए । यसअघि उक्त पदकबाट माल्दिभ्स र पाकिस्तानका नागरिकलाई सम्मान गरिएको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org