ताजा समाचार

नेविसंघको विवाद चर्कियो, देउवाको आँडमा महर र पौडेलको आँडमा काफ्ले

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको विवाद चर्किएको छ । अध्यक्ष नयनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले समूहले एक अर्का समूहका सदस्यलाई स्पष्टिकरण सोधेपछि विवाद थप चर्किएको हो ।

संघको विधान विपरित काम गरेको भन्दै महर पक्षले उपाध्यक्ष रामप्रसाद अधिकारी, सिटिइभिटीका अध्यक्ष कर्ण ओली लगायतलाई स्पष्टिकरण सोधेको २४ घण्टा नबित्दै महामन्त्री काफ्ले समूहले अध्यक्ष महरलाई नै अर्को स्पष्टिकरण सोधेको छ ।

नेविसंघका सहमहामन्त्री एवं अनुशासन समितिका संयोजक राजेश रौनियारले महर र अर्का सहमहामन्त्री अम्बिका चलाउनेलाई तीन दिनभित्र स्पष्किरण दिन पत्र काटेका हुन् । स्पष्टिकरणपत्रमा स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा चुनावमा महरले संगठनलाई क्रियाशिल नबनाएको कारण पार्टीले हार व्यहोर्नु परेको आरोपसमेत लगाइएको छ ।

आर्थिक प्रलोभनमा परेर त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुर, सिटिइभिटी समन्वय समितिलगायतका निकायमा जिम्मेवारी तोकेको, आफू निकटलाई विधानमै व्यवस्था नभएको आमन्त्रित केन्द्रिय सदस्य बनाएको आरोप पनि महरमाथि लगाइएको छ ।

यसअघि महर समूहले उपाध्यक्ष रामप्रसाद अधिकारीले संगठनमा छलफल नै नगरी आफू खुसी रुपमा काम गरेका भन्दै स्पष्टिकरण सोधेको थियो । तर अधिकारले संघको नियमावलीमा प्रदेशको उपाध्यक्ष नै प्रदेशको संयोजक हुने भएकाले आफूले संयोजकको हैसियतमा प्रदेशका अरु साथीहरुसँग छलफल गरेर कार्यक्रम गरेको दावी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org