ताजा समाचार

‘रअ’ को एजेन्ट बनाउने भन्दै ३ सय युवालाई ठगी गर्ने रमाकान्त पक्राउ

काठमाडौं, ३० पुस । भारतीय गुप्तचर निकाय ‘रअ’ को एजेन्ट बनाईदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । रअ मा भर्ना गरेको भन्दै नक्कली नियुक्तिपत्र दिई ३ सय भन्दा बढी युवाहरुलाई ठगी गर्ने सप्तरीका रमाकान्त नौनिया पक्राउ परेका हुन् । उनले मासिक ५० हजार भारु तलब हुने गरी रअ को एजेन्टमा नियुक्त गरेको भन्दै नाटकीय शैलीमा ठगी गर्दै आएका थिए ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो । जागिर लगाइदिएवापत ४ महिनाको तलब आफुलाई दिनुपर्ने भन्दै उनले ठगी गर्दै आएको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

नियुक्तिपत्र दिएपछि सूचना संकलनका लागि उनले युवाहरुलाई विभिन्न एरिया तोकेर खटाएका समेत थिए। भारतीय दुतावासकै नक्कली लेटरप्याड बनाएर उनीहरुलाई नियुक्ति दिइएको थियो। पछि उनी सम्पर्क विहिन भएपछि रअको एजेन्टमा नियुक्त भएकाहरु प्रहरीमा पुगेका थिए।

हालसम्म एक दर्जन उजुरी आएको र नौनियाले तीन सय भन्दा धेरै व्यक्तिहरुलाई त्यसरी ठगी गरेको देखिएको एसएसपी लोहनीले बताए। अभियुक्त नोनिया बैदेशिक रोजगारीमा कुबेत पुगेर फर्किएका व्यक्ति हुन्। उनलाई ठगी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org