ताजा समाचार

चिसो र शीत लहरका कारण दुई सातामा ८२ जनाले ज्यान गुमाए

काठमाडौं, २ माघ । दुई सातादेखिको अत्यधिक चिसो र शीत लहरका कारण देशभरमा ८२ जनाले ज्यान गुमाएका छन् । चिसोका कारण यस वर्ष मध्य–पूर्वी आठ जिल्लामा मात्र ८२ जनाले ज्यान गुमाईसकेका हुन् । शीतलहर र अत्यधिक चिसोले प्रदेश नम्बर २ अन्तर्गतका जिल्ला बढी प्रभावित भएका छन् ।

दुई सातादेखि अत्यधिक बढेको हुस्सु, शीतलहर र चिसोले मध्य पूर्वी तराईका बारा, पर्सा, सिरहा, रौतहट, सर्लाही, सप्तरी, धनुषा र महोत्तरीको जनजीवन पूर्णरुपमा प्रभावित बनेको हो ।

यी जिल्लामा हालसम्म चिसोकै कारण ८२ जनाले ज्यानसमेत गुमाई सकेका छन् । जसमा सबैभन्दा बढी सप्तरीमा २४, रौतहटमा १९, सिरहामा १४, पर्सामा ९, बारामा ५, धनुषामा ५, सर्लाहीमा ३ र महोत्तरीमा ३ जनाको मृत्यु भएको छ ।

शीत लहरले उद्योग व्यवसाय निकै प्रभावित भएका छन् भने सर्वसाधारणको आवागमनमा समेत कमी आएको छ । सर्वसाधारणहरु दिनरात आगो तापेर बस्न बाध्य भएका छन् । चिसोले जनजीवन कष्टकर भइरहँदासमेत सरकारी निकायले राहतको व्यवस्था गर्न नसकेको गुनासो नागरिकहरुको छ ।

सरकारी निकायले प्रभावित क्षेत्रका बासिन्दालाई दाउरा वितरण गरे पनि त्यो अपुग देखिएको छ । चिसो र शितलहरले खासगरी बच्चा र वृद्धवृद्धामा बढी असर पारेको छ । सम्बन्धित जिल्लाका जिल्ला अस्पतालमा दैनिक ५० देखि ६० जनासम्म जाडोबाट प्रभावित बिरामीहरु उपचार गराउन आइरहेका छन् । स्थानीय स्तरमा निर्वाचित जनप्रतिनिधिहरुले प्रभावित क्षेत्रमा आगो बाल्ने, न्यानो कपडा वितरण गर्ने लगायतका काम गर्दै आईरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org