ताजा समाचार

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारतले दियो पद्मश्री पुरस्कार

काठमाडौं, १२ माघ । वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई भारत सरकारले पद्मश्री पुरस्कार दिने घोषणा गरेको छ। भारतको प्रतिष्ठित यो पुरस्कार यस वर्ष विदेशीतर्फ डाक्टर रुइतलाई दिने निर्णय सरकारले गरेको हो। ‘सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका छन्,’ भारतको प्रेस इन्फर्मेसन ब्युरोले आफ्नो आधिकारिक ट्विटरमा लेखेको छ ।

डाक्टर रुइत तिलगंगा आँखा प्रतिष्ठानकमा संस्थापक हुन्। रुइतले विकास गरेको इन्ट्राअकुलर लेन्स संसारभरि लोकप्रिय छ। मोतीविन्दुको अप्रेसन गरेपछि आँखामा राख्नुपर्ने यो लेन्स दुई दशकअघिसम्म निकै महंगो थियो।

१ सय अमेरिकी डलर पर्ने सो लेन्सका कारण धेरै अविकसित देशका नागरिक यसको पहुँच बाहिर थिए। सन् १९९७ मा डाक्टर रुइतले नेपालमै सो लेन्स उत्पादन गर्न सुरु गरेपछि त्यसको मूल्य जम्मा ४ डलरमा पुगेको छ। अष्ट्रेलियामा अध्ययन गरेपछि नेपाल फर्किएर उनले अन्धोपन हटाउन सस्तो प्रविधिको लेन्स र सल्यचिकित्सा प्रविधिको आबिस्कार गरेका थिए ।

अहिलेसम्म नेपालमा उत्पादित ४० लाख बढी इन्ट्राअकुलर लेन्स संसारभरिका मानिसका आँखामा राखिएको छ।ताप्लेजुङको विकट गाउँमा जन्मेका डाक्टर रुइतले हरेक वर्ष निशुःल्क आँखा शिविर पनि गर्दै आएका छन्।

नेपालसहित भुटान, इन्डोनेसिया, म्यानमार, उत्तर कोरिया र अफ्रेकी देशहरुमा रुइतको टोलीले हरेक वर्ष निशुःल्क आँखा शिविर चलाउँदै आएको छ। सन् २००६ मा उनले फिलिपन्सको प्रतिष्ठित रोमन म्यागासासे पुरस्कार पाएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org