भारतले ७ दशकमा कति नेपाली भूमि मिच्यो ? २३ जिल्लाको जमिनमा भारतीय अधिकार
काठमाडौं, १४ माघ । भारतसँग सिमा जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा मिचिएको छ । भारतसँग सीमा जोडिएको ७१ भन्दाबढी ठाउँमा नेपाली भू–भाग मिचिएको पाईएको हो । भारतसँग जोडिएका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेल्धुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमणबाट चोखा रहेका छन् । भारतबाट एकतर्फी रुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी पछिल्लो दाङ, पर्सा र बाराबाहेक भूभाग मिचिएको अनुमान गरिएको छ ।
यसमध्ये कालापानी (लिम्पियाधुरा) क्षेत्रको मात्रै ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन अतिक्रमण भएको पाईएको हो । त्यतिमात्र कहाँ हो र मेची–महाकालीसम्म भारतसँग सीमा जोडिएका १८ जिल्लामा ४ सय ७४ सीमास्तम्भ भारतीय पक्षबाट गायब गरिएका छन् ।
सशस्त्र प्रहरीबलको तथ्याङ्कअनुसार ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये २ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा छन् । सन् १९४७ सालमा स्वतन्त्र भएदेखि भारतले नेपालको भूमि लगातार अतिक्रमण गरिरहेको छ । भारतले १ लाख ४३ हजार वर्गकिलोमिटर नेपालको क्षेत्रफल भएको नक्सा बनाएको सीमाविद्हरुको दाबी छ । सुगौली सन्धिपछि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा सीमित भएको थियो ।
नेपाल र भारतबीच १८ सय ८० किलोमिटर सीमा जोडिएको छ । भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये १८ जिल्लामा मात्र नेपालको तर्फबाट सशस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छ त्यो पनि सीमाभन्दा ३९४ किलोमिटर भित्र मात्र । उत्तरी छिमेकी चीनसँग नेपालको १४ सय १५ किलोमिटर सीमा जोडिएको छ ।
भारतीय अतिक्रमणमा परेका नेपाली भूभागहरुः
१. ताप्लेजुङको
ताप्लेजुङको टिम्बापोखरी क्षेत्रको डाँडामा भारतले पार्क बनाउँदा कञ्चनजंघा दक्षिण १५ किलोमिटर धस्रो मिचिन पुगेको छ । त्यस्तै मगना तम्लिङको पूर्वी खण्डमा भारतले नेपाली सीमा मिचेको छ । कञ्चनजंघा हिमालको दक्षिण काब्रु क्षेत्रका डाँडामा शिखर चढ्न पर्वतारोही जाने सिलसिलामा भारतले नेपाली भूमिलाई आफ्नो दावी गर्दै आएको छ ।
२. पाँचथरः
च्याङथापुमा भारतीय सेनाले नेपाली भूमि प्रयोग गरिरहेको छ । तिब्बु पोखरी क्षेत्रमा सीमा यकिन हुन नसक्दा पशुपालनको समेत समस्या छ । चिवाभाज्याङमा पनि भारतले यस क्षेत्रको सीमारेखामा जोडेर राष्ट्रिय निकुञ्ज बनाएकाले फलेलुङसम्मको नेपाली क्षेत्रको डाँडाको भाग समेत सो पार्कमा गाभेको छ ।
३. इलाम
पशुपतिनगरको फाटकस्थित नेपाली दशगजा क्षेत्रमा भारतले भन्सार कार्यालय भवन बनाउन ४० वर्गकिलोमिटर नेपाली भूमि मिचेर काँढेतार लगाएको छ । पशुपति–४ हिलेमा २०५९ असार २४ मा गाडेको ४ सीमास्तम्भमध्ये ७१/२२ नम्बरको सहायक स्तम्भका कारणले नेपालीको ६ घर एवं एउटा छोटी भन्सार कार्यालयसमेत भारतमा परेको छ । मानेभन्ज्याङ क्षेत्रमा सीमा मिचिएको बारेमा नेपाली जनताले आवाज उठाउँदै आएका छन् । सन्दकपुरको ३३६३ मिटर अग्लो यो डाँडोबाट कञ्चनजंघा र दक्षिणमा तराई भूभाग देखिने हुनाले भारतले यहाँ ३२ किलोमिटर सडक बनाई सिमाना मिचेको छ ।
४. झापाः
पाठामारी महेशपुर भद्रपुर काँकडभिट्टा नकलबन्दा बाहुनडाँगी क्षेत्रमा भारतले ३२ हजार रोपनी नेपाली भूमि अतिक्रमण गरेको छ ।
५. मोरङः
बुद्धनगर–जोगवनी सिमानामा दशगजा क्षेत्र नै देखिँदैन । नेपाली भूभाग बुद्धनगर पोखरिया रेली डाइनिया सोराभाग मझारेका दशगजा क्षेत्रमा भारतीय आप्रवासीहरुले सार्वजनिक र नेपाली जमिन अतिक्रमण गरेका छन् । त्यस्तै रेलीसहित आमगाछी झुर्किया महादेवा र कर्सिया सीमाक्षेत्रको नेपाली दशगजामा भारतीय नागरिक बसोबास गरेका छन् । बझाह लुना नदी चुनिमाडी नजिकको नेपालपट्टीको एक किलोमिटर जमिन भारतले अतिक्रमण गरेको छ ।
६. सुनसरीः
सुनसरी जिल्लाभित्रका कटैया–भन्टावारी हर्निगरिया साहेवगन्जजस्ता ठाउँहरुमा गरी भारतले सात हजार विघा नेपाली जमिन मिचेको छ ।
७. सप्तरीः
सुवर्णपट्टी क्षेत्रमा ५० मिटर सिमास्तम्भ नेपालभित्र सारिएको छ । जसका कारण ६० विघा जमिन भारतबाट अतिक्रमण भएको छ । सखडा छिन्नमस्ताको भगवतीभन्दा दक्षिण बरामपुरछेउको जग्गा भारतीयहरुले उपयोग गरिरहेका छन् । लालपट्टी–गोविन्दपुरको लालपट्टीमा जङ्गे स्तम्भ सारी नयाँपिलर गाडिएको छ ।
दशगजाभित्रको करिब ५० विघा नेपाली जमिन अतिक्रमण भएको छ । कुनौलीमा भारतीय रेल्वे स्टेसनतर्फ जाने सडक दक्षिणतर्फ करिब ५ किलोमिटर सीमा क्षेत्रको नेपाली जग्गा अतिक्रमण हुँदा ६० बिगाह जमिन मिचिएको छ । विष्णुपुर–शिवनगरको गोबरगाढा क्षेत्रमा भारतीय किसानहरुले ठाउँठाउँमा नेपाली जग्गा अतिक्रमण गरेका छन् ।
८. सिराहाः
माडर–चन्द्रगन्जको दक्षिणी भूभाग र टाँडीको दशगजा क्षेत्रभन्दा भित्रको जमिन भारतले मिचेको छ ।
९. सर्लाहीः
त्रिभुवननगरको सीमास्तम्भ नम्बर २९ र ३० देख्नै नसकिने गरी ४३ जना भारतीयहरुले नेपाली दशगजा क्षेत्रदेखि २ सय फिटभित्र नेपाली भूमि मिची सिसौका रुख लगाएका छन् । सीमास्तम्भ नम्बर ३५ , ३८ र ३९ छेउछाउ नेपाली भूमि मिची भारतीयहरुले २९ घर बनाएको र यस्तै स्तम्भ नम्बर २८, २९ र ३० वरपर २० घर स्तम्भ नम्बर २५ र २६ को छेउमा ११ घर बनाई सिमा मिचिएको छ । सङग्रामपुर–हथिऔलको पूर्वमा सङग्रामपुर र पश्चिममा हथिऔल गाविसहरुको दशगजाभित्रको नेपाली जग्गा विगत २० वर्षदेखि भारतीयहरुले उपयोग गर्दै आएका छन् ।
१०. रौतहटः
गौर–जमुनाः जमुना गाविसको वडा नम्बर ८ को दक्षिण भागमा भारतीयहरुले वृक्षारोपण गरेर रुखहरुको उपयोग गरिरहेका छन् । गौरनजिकै भारतीय क्षेत्रमा बाँध बाँधिएको हुनाले वर्षामा बाढी र डुबानबाट नेपालीहरु पीडित छन् ।
११. पर्साको ठोरीः
यस क्षेत्रमा भारतीयहरुले पुराना सीमास्तम्भ नम्बर ८४ र ८५ हटाई भिकना ठोरीतर्फबाट नेपालतर्फ ५ सय मिटर सिमाना सारी नेपाली भूमि मिचेका छन् । त्यस्तै लक्ष्मीपुर–पिपरा क्षेत्रमा पनि चोक्टाचोक्टी सीमा अतिक्रमणमा परेको छ । वीरगञ्ज–सिसरियाको अलौ तथा सिक्टा क्षेत्रमा नेपाली दशगजा भारतीय नागरिकहरुले मिचेका छन् । वीरगन्जको सिर्सियामा भारतले वाणिज्य कन्सुलेट अफिस र भन्सार कार्यालय नेपाली भूमिमा बनाएको छ ।
रक्सौलमा नेपाली स्वामित्व भएको जमिनमाथि भारतीयहरुले अतिक्रमण गरेका छन् । रक्सौलमा नेपाल सरकारले रेल्वेका लागि १९२४ जुन २९ मा भारु ३२ हजारमा किनेको २७.७१ एकड १६ विगाहा १० कठ्ठा जमिन भारतीयहरुले एकपक्षीय रुपमा हडप्न थालेका एक दशक नाघेको छ ।
१२. चितवनः
बाल्मीकि आश्रमक्षेत्रको जङ्गलमा बेलामौकामा भारतीयहरुले अतिक्रमण गरी रुखसमेत काटी लैजाने गरेका छन् । दारनाला दारीचुरे क्षेत्रको भूभागमा भारतीय पक्षले वर्षेनी अतिक्रमण गर्दै आएका छन् ।
१३. नवलपरासीः
सुस्ता क्षेत्रमा २०११ सालभन्दा अघिदेखि भारतीयहरुले नेपालतर्फको जङ्गलको भूमि अतिक्रमण गर्दै आएको पाइन्छ । त्यसपछि नारायणी नदीले धार बदलेपछि भने नेपाली भूमि मिचिने क्रम अझ बढेको छ । यो सर्वाधिक पुरानो विवादित भाग हो । सुस्ता–नस्राही क्षेत्रको करिब २१ हजार ९ सय ५० विगाह जमिन भारततर्फबाट मिचिएको छ । यस्तै घोङखीनाला नजिकको दशगजा क्षेत्रमा पनि विवाद कायम छ ।
१४. रुपन्देहीः
दानवनदी क्षेत्र रसियावाल खुर्दलोटन बाँधतर्फ नेपालको मर्चावार क्षेत्रमा सीमास्तम्भ नम्बर ३० सँगै सटाएर भारतले ३ किलोमिटर लामो रसियावाल खुर्दलोटन बाँध बनाउनाले मालिगाव थुमुवा पिप्रवा असुरनैया बेचकुइया रोइनिहवा फेरना सिलौटिया बोगडी सिवुवा अमा बभनी गाविसहरुको धानखेत डुबानमा परी करिब २० किलोमिटर दशगजा मिचिएको छ । यसबाट गौतमबुद्धको जन्मस्थान लुम्बिनी पनि डुबानमा पर्ने खतरामा छ ।
त्यस्तै बेलहिया सुनौली नाकाको नेपालतर्फको दशगजा क्षेत्रमा भारतीयहरुले अनाधिकृत झुपडी र पानी टयाङकी बनाई सीमा अतिक्रमण गरेका छन् । कपिलवस्तु कृष्णनगर ठन्डानदी किनारको दशगजाको दुवै भागमा भारतीयहरुले घर बनाएकाले नेपाली दशगजा क्षेत्र हरण भएको छ । यस्तै ठन्डा नदीले काटी दशगजाको भाग मेटाएको छ ।
१५. दाङ कोइलाबासः
सिवालिक श्रृङ्खलामा रहेको कोइलाबास क्षेत्रमा भारतीयहरुले साविक सीमाभन्दा उत्तरपूर्वसम्म भारतको पर्छ भनी केही भाग मिचेका छन् । हर्नाडाँडा क्षेत्रमा चुरे फेदीको सिमानालाई उत्तर सारी श्रृङ्खलाको सिमाना सारिएको छ । दाङको डुडुवा श्रृङ्खलामा अङ्ग्रेजकै पालादेखिको विवाद थियो ।
१६. बाँकेः
सन्तलिया क्षेत्रको ठाउँ–ठाउँमा दशगजा मिची भारतीयहरुले घर बनाएका छन् । होलिया–नैनापुर लक्ष्मणपुरबाँध स्राप्ती नदी क्षेत्रको दोराचुरे एवं होलिया गाविस वडा नम्बर ९ सन्तलियादेखि दक्षिणतिर दुई देशबीचको सीमारेखादेखि र सीमास्तम्भ नम्बर १९ देखि करिब ३ सय मिटर टाढा भारतले २०५६ सालमा राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध तथा तटबन्धबाट बाँकेको बेतहनी होलिया फत्तेपुर गंगापुर मटेहिया नैनापुरसमेत गरी ९ गाविसको खेतबारी र धनजन डुबानमा परेको छ । भारतले लक्ष्मणपुर बाँध र २२ किलोमिटर लामो तटबन्ध निर्माण गर्नाले दुई देश बीचका सीमास्तम्भहरु लोपभएका छन् ।
१७. बर्दियाः
मनउ, खैरी र टपरा क्षेत्रको ठाउँ–ठाउँमा दशगजा मिचिएको छ । गुलरिया नगरपालिका ९, १२ मा दशगजामा १ किलोमिटर खाडल खनी टपरी गाउँको सीमास्तम्भ नम्बर ६२–६ देखि ६२–८ सम्म १ किलोमिटर भू–भाग भारतले मिचेको छ । बर्दिया जिल्लाको करिब ६० किलोमिटर नेपाल–भारत सीमावर्ती क्षेत्रको स्तम्भ नम्बर ४१ देखि ९८ सम्मका प्रायः जसो दशगजाको भूभाग भारतीय पक्षबाट खेतयोग्य जमिन बनाइएको छ । मूर्तियाः बर्दियाबाट मुर्तिया जाने बाटोको बासी क्षेत्रमा केही जमिन अतिक्रमणमा परेको छ । त्यस्तै नकुवा नालादेखि उत्तरतर्फको क्षेत्र मिचिएको छ ।
कैलालीको सती–विरानाला–भानाला क्षेत्रमा सीमास्तम्भहरु लोप भएका छन् । दशगजा भन्दा केही भित्री भाग पनि मिचिन पुगेको छ । यस्तै फूलबारी गाविस नजिकको भागमा मोहना नदीले आफ्नो बहाव बदलिरहने कारणले यस आसपासको जङ्गल भारतीयहरुले अतिक्रमण गर्ने गरेका छन् । भजनी कुसुमघाट र लालबोझी कौवाखेडा को सीमास्तम्भ नम्बर ११०, ११५, १२३ नेपालतर्फ सारेर २० मिटर चौडा १५ किलोमटिर लामो नेपालको करिब ५ सय बिघा जमिन २०६३ पुस १० देखि मिचिएको छ ।
१८. कचनपुरः
ब्रम्हदेवमण्डि–पुणागिरी क्षेत्रको ब्रम्हमदेवमण्डिमा रहेको सीमास्तम्भ नम्बर १ बगाएपछि केही नेपाली भूमि अतिक्रमित हुन पुगेको छ । टनकपुर ब्यारेज तथा डुबान क्षेत्रः यस भागमा करिब २२२ हेक्टर नेपाली भूमि अतिक्रमित भएको छ । भारतले टनकपुर बाँध निर्माणसँग सम्बन्धित ५७७ मिटर लामो पुल बनाउँदा नेपालतर्फको जमिन मिचिएको छ । त्यस्तै बनबासा–गड्डाचौकी क्षेत्रमा नेपालतर्फको भूभाग भारतीय बासिन्दाले क्रमशः मिच्दै आएका छन् ।
लक्ष्मीपुर, रामपुर, बिलासपुर, चाँदनी दोधाराको पूर्वी भाग मेलाघाट तथा सुन्दरनगर क्षेत्र त्रिभुवनबस्ती, बेलडाँगी क्षेत्रका दशगजाभित्रको ठाउँठाउँमा गरी करिब ३० बिघा नेपाली भूभाग अतिक्रमण गरी भारतीय नागरिकहरुले २६ वर्षदेखि उपयोग गर्दै आएका छन् । भारतबाट शारदा बाँध निर्माण गर्दाका समयमा ३६.६७ एकड २९१.७ रोपनी जमिन साबिकदेखि नै मिचिएको मिचिएकै छ ।
शुक्लाफाँट बन्यजन्तु आरक्षण क्षेत्रको दक्षिणको सीमारेखाको २० लाइन किलोमिटर क्षेत्रको ठाउँ–ठाउँमा २९ वर्गकिलोमिटर भू–भाग मिचिएको छ । परासनका खुड्डाकड्ढडमा अवस्थित सीमास्तम्भ नम्बर १९७ लाई रिफरेन्स पिलर बनाउँदै १५० मिटर चौडा नेपाली भूमि अतिक्रमण भएको छ । यस क्षेत्रमा भारतीय ठेकेदारहरु घुसेर काठ काटी लैजाने गरेका छन् ।
१९. दार्चुलाः
कालापानी–लिम्पियाधुरा क्षेत्रमा नेपाल र भारतबाट चीनको स्वशासित प्रदेश तिब्बतको ताक्लाकोट व्यापारिक केन्द्रतर्फ जाने लिपुलेक भन्ज्याङदेखि शुरु भई तुल्सीन्यूराङ नाभिडाँड हाल कालापानीमा भारतीय अर्धसैनिकले ओगटेको भाग हुँदै यसदेखि अझ पश्चिमतर्फका गुन्जी कुटी नाभी छोटाकैलाश जोलिङकाङ पर्वत हुँदै लिम्पियाधुरासम्म पुगेको छ ।
(समाचार स्रोतः विभिन्न सञ्चारमाध्यम, सरकारी तथा गैह्रसरकारी संस्थाका दस्तावेज तथा सीमा विद्हरुसँगको समन्वय)
Comments
अरु समाचार
-
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय...
-
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
काठमाडौं । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको...
-
धरानमा सांस्कृतिक महोत्सव हुँदै
काठमाडौं । धरानमा आइतबारदेखि सङ्गीत जात्रा सांस्कृति महोत्सव हुने भएको छ । गीतसङ्गीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन...
-
सुदूरपश्चिम प्रदेशका मन्त्रीले गरे ६५ वर्षको उमेरमा विवाह
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा दुलहा बनेका छन्। शुक्रबार उनले कञ्चनपुरकी भावना विष्टसँग विवाह...
-
‘प्रहरीलाई आधुनिक र प्रविधियुक्त तालिम आवश्यक’
काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेरचन्द्र खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताएका छन्...
-
पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४...
-
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...
-
तराईमा चिसोले जनजीवन प्रभावित
काठमाडौं । लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको...
-
निजी कलेजका सञ्चालक नै विश्वविद्यालयको उपकुलपति बन्ने दौडमा
कास्की । पोखरा विश्वविद्यालयको उपकुलपति वन्नको लागि निजी कलेजका एकजना सञ्चालकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई दबाव दिएको खुलासा भएको...