ताजा समाचार

कञ्चनपुरमा भारतीयले फेरी गर्‍यो अर्को हस्तक्षेप, सडक फराकिलो बनाउँदा अवरोध

कञ्चनपुर, १५ माघ । नेपाली भूमीमै बाटो फराकिलो बनाउँदा भारतीय प्रहरीले हस्तक्षेप गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटमा नेपाली भूमिकै सडक फराकिलो बनाउन खोज्दा भारतीय भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले रोकेको हो ।

बेलौरी नगरपालिकाबाट विनियोजित बजेटले भारतीय सीमा क्षेत्रसम्म जोड्ने गरी सडक निर्माणका क्रममा नेपालीहरुले खेतिबाली लगाउँदै आएको दर्ता जमिनमा बाटो फराकिलो बनाउन खोज्दा भारतीय एसएसवीले राखेको स्थानीय विवेक लम्सालले जानकारी दिए ।

वषौँ देखि प्रयोग गर्दै आएको नेपाली भूमिलाई आफुहरुले जस्तोसुकै प्रयोजनका लागि प्रयोग गरेपनि भारतीय पक्षले चाँसो देखाउनु भारतको नांगो हस्तक्षेप भएको उनको भनाई छ । नेपाली भूमिकै सडक फराकिलो बनाउँदा भारतीय पक्षले अवरोध पुर्‍याउनु र नेपाली प्रशासन मुखदर्शक बनेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

भारतीय पक्षले आफुहरुलाई सधैँ यसरी नै हेपाहा प्रवृति देखाउने गरेको प्रति स्थानीयले आक्रोश पोखेका छन् । यसैबीच भारतीय सुरक्षा निकाय एसएसबीका प्रहरी निरीक्षक एस के सिंह, सशस्त्र प्रहरी बल बेलौरीका प्रहरी निरीक्षक भिम सिंह थापा, भुडा प्रहरी चौकीका इन्चार्ज हरि प्रसाद भट्ट, पत्रकारहरुसहित केही स्थानीय नागरीकहरुबीच उक्त विषयलाई लिएर अहिले ठूलो विवाद निम्तिन नदिने पक्षमा छलफल भएको छ ।

भारतीय सुरक्षा एसएसबीले दशगजा क्षेत्र भित्रको जमिनलाई एकतर्फी प्रयोग गरी नयाँ संरचना वा बाटो फराकिलो बनाउन नदिने अडान राखेपछि नेपाली पक्ष पनि आक्रोशित भएको थियो । भारतीय पक्षले सीमा स्तम्भ नम्बर ३२ र ३३ मा सीमा स्तम्भ नाघेर नेपाली पक्षले खेती लगाएको आरोप लगाएको छ भने अहिले विवादित सीमा स्तम्भ नम्बर ३४ नजिक भारतीय पक्षले नेपाली भूमि मिचेको आरोप लगाएका छन् ।

सीमा सर्भे टोलीले केही महिनामै उक्त क्षेत्रको वास्तविक सीमा जाँच गरी टुंगो लगाउने र त्यतिबेला सम्म विवाद बढाउन नदिने विषयमा दुई देशका अधिकारीहरुबीच मौखिक समझदारी भएको छ । यस्तै विवादले गत फाल्गुन २६ गते कञ्चनपुर कै पुनर्वासमा स्थानीय गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org