ताजा समाचार

बलात्कारको घटना २० लाखमा मिलाउँदा डीएसपी र इन्सपेक्टरमाथि छानबिन

काठमाडौं, १६ माघ । सामुहिक बलात्कारको घटना प्रकरणमा प्रहरीका अधिकारी नै तानिएका छन् । दरबारमार्गको ल्याण्डमार्क होटलमा बिहीबार भएको सामुहिक बलात्कारको घटनामा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी तीलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी छानविनमा तानिएका हुन् ।

युवती बलात्कार घटना सामान्य मिलापत्रमा मिलाइएको आरोप बाहिरिएपछि महानगरीय प्रहरी परिसरले दुई प्रहरी अधिकारीमाथि छानविन सुरु गरेको हो ।

काठमाडौंको ल्याण्डमार्क होटलमा गत बिहीबार साथीसँगै गएकी एक युवती सामुहिकरूपमा बलात्कृत भएकी थिईन् । मदिरा पिएका ३ जनाले बलात्कार गरेलगत्तै युवती उजुरी लिएर महानगरीय प्रहरी वृत्त दरबारमार्ग पुगेकी थिइन् ।

पीडित पक्ष दरबार मार्ग पुगे पनि प्रहरीले उजुरी दर्ता नगरी मिलापत्रका लागि दबाब दिएको पीडित पक्षको आरोप छ । पीडित युवतीले डीएसपी भारती र इन्सपेक्टर ठकुरीको दबाबमा मिल्न लगाइको गुनासो गर्दै आएकी छन् । आर्थिक प्रलोभनमा पीडित युवतीको उजुरी नै नलिई घटना मिलाएको आरोप उनीहरुमाथि छ।

सामान्य मिलापत्रमा बलात्कारजस्तो जघन्य अपराध मिलाइएको पीडित युवतीको गुनासोपछि महानगरीय प्रहरी परिसरले डीएसपी भारती र इन्सपेक्टर ठकुरीमाथि छानबिन थालेको हो । एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित समितिले यसबारे छानबिन थालेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

२० लाखमा कुरा मिलाउँदै थिए प्रहरी अधिकारीः
फेसबुकमा चिनजान र केही समयको कुराकानीपछि युवकको प्रस्तावमा ती युवती बिहीबार होटेल पुगेकी थिइन्। होटलमा युवकले पहिले नै तीनवटा रुम बुकिङ गरेको र साथी समेत बोलाएर राखेका थिए । पीडित युवतीको बयान अनुसार आफुमात्रै आउने बताएपनि पछि अन्य साथिहरुलाई समेत बोलाएका रहेछन् ।

बिहीबार उनीहरुले बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग पुकेकी थिइन्। तर, प्रहरीको सहयोगमा युवतीलाई २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिने सहमतिमा उजुरी दर्ता नगरी घटना मिलाइएको थियो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org