ताजा समाचार

उडिरहेको विमानको इन्जिन फेल भएपछि पाइलटले गरे सडकमै अवतरण

क्यालिफोर्निया, १६ माघ । उडिरहेको विमानको इन्जिन फेल भएपछि पाइलटले सडकमै आपतकालिन अवतरण गराएका छन् । उडानका क्रममा हवाईजहाजको इन्जिन फेल भएपछि एक पाइलटले क्यालिफोर्नियाको राजमार्गमा नै आपतकालीन अवतरण गराएका हुन् ।

यस क्रममा कसैलाई सामान्य चोटपटकसम्म लागेन । ‘कोस्टा मेसा फायर एन्ड रेस्क्यू’ ले ट्विटरमा हालेको तस्वीरमा खुल्ला सडकमा एउटा सानो जहाज पार्क गरिएको देखिन्छ । एनबीसी साउथर्न क्यालिफोर्नियाका अनुसार २४ वर्षीय पाइलट इज्जी स्लोउडले जहाजलाई सान डियगोबाट भान नुयजतर्फ लगिरहेका बेला इन्जिनमा गडबडी आएको चाल पाएका थिए ।

इन्जिनलाई रिस्टार्ट गर्न नसकेपछि स्लोडले जहाजलाई कोस्टा मेसास्थित ५५ फ्रिवेमा अवतरण गराउने निर्णय लिए । ‘मैले राजमार्ग खुल्ला देखेँ र तत्कालै अवतरण गर्ने निर्णय लिएँ’ स्लोडले भनेका छन् । जहाज अवतरण गराउँदा राजमार्ग खुल्ला हुनु चमत्कार जस्तै भएको उनको भनाइ छ ।

अवतरण गर्नुअघि स्लोडले हवाई ट्राफिक कन्ट्रोलमा पनि सम्पर्क गरेर आफ्नो निर्णयको जानकारी गराएका थिए । ‘मसँग एक वा दुई मिनेट मात्र समय थियो, त्यसैले धेरै सोचिरहने अवस्था नै भएन । मैले हिम्मतका साथ यो निर्णय लिएँ । यसमा सफल हुन्छु भनेर निश्चिन्त थिइँन’ उनले अगाडि भने ।

नजिकै गाडी हाँकिरहेका एक ड्राइभरले सडकमा राखिएको जहाजको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेका छन् । घटनाबारे अमेरिकाको फेडरल एभियसनले अनुसन्धान गर्न थालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org