ताजा समाचार

भारतीय विदेश मन्त्री स्वराज काठमाडौंमा, एमालेले होटल सोल्टीमा रात्रीभोज दिने

काठमाडौं, १८ माघ । दुई दिने भ्रमणका लागि भारतीय विदेश मन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। विदेश मन्त्रालयका उच्चअधिकारीसहित विशेष विमानबाट स्वराज दिउँसो नेपाल आइपुगेकी हुन्। उनले आजैबाट राजनीतिक भेटघाट सुरु गर्ने छिन्।

भारतीय विदेश मन्त्रालयले स्वराजको भ्रमण दुई देशबीचको राजनीतिक भ्रमणको निरन्तरता भएको बताएको छ।सन् २०१४ मा विदेश मन्त्री बनेपछि स्वराज सातौं पटक नेपाल आएकी हुन्। मंसिरमा प्रदेश र प्रतिनिधि सभाको चुनाव भएर वाम गठबन्धनले बहुमत ल्याएपछि भने उनले पहिलो पटक नेपाल भ्रमण गर्दै छन्।

यसैबीच चुनावबाट सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेले स्वराजको सम्मानमा आज रात्रीभोज आयोजना गरेको छ। होटल सोल्टीमा हुने रात्रीभोजका क्रममै एमाले अध्यक्ष केपी शर्मा ओली र स्वराजबीच भेट हुने एमाले नेता सुवास नेम्वाङले जानकारी दिए।

स्वराजले राजपाका नेताहरुसँग पनि राति आठ बजे सोल्टी होटलमै भेट गर्ने राजपा नेता केशव झाले जानकारी दिए।स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भेट गर्नेछिन्।

बिहान १२ बजे स्वराज राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुग्नेछिन्। राष्ट्रपतिसँगको भेटपछि उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने छिन्। स्वराजले भोलि नै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गर्नेछिन। उनको विस्तृत भ्रमण तालिकाबारे भने आफूलाई जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org