ताजा समाचार

महिला तथा बालिकालाई दुर्व्यवहार गर्ने चिकित्सकलाई ३ सय ६० वर्षको जेल सजाय

एजेन्सी, २३ माघ । अमेरिकी जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासारलाई ३ सय ६० वर्षको जेल सजाय सुनाईएको छ । एक दशकदेखि महिला तथा बालिकालाई दुर्व्यवहार गर्दै आएको अभियोगमा नासारलाई ३ सय ६० वर्षको जेल सजाय सुनाईएको हो ।

पछिल्लो पटक आफ्नै टोलीका महिला जिम्न्यास्टसँगै अन्य महिला, युवती तथा बालबालिका गरी करिब २ सय ६५ जनालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई १ सय २५ वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

यसअघि १ सय ५६ जनालाई दुर्व्यवहार गरेको आरोप पुष्टि भएपछि मिचिगनस्थित इन्घाम काउन्टी अदालतकी न्यायाधिश रोजमेरी एक्वेलिनाले ४० देखि १ सय ७५ वर्षसम्मको जेल सजायको फैसला सुनाएकी थिइन्। ५४ वर्षीय नासार बालबालिकामाथि गरिएका यौन दुर्व्यवहारसँग सम्बन्धित फोटोहरु कम्प्युटरमा संग्रह गरेको आरोपमा हाल ६० वर्ष लामो जेल सजाय भोगिरहेका छन्।

बयानका क्रममा सोमबार नासारले माफी माग्दै भने, ‘तपाईंहरुको भनाइको आशय जिन्दगीभर मेरो सोचमा रहनेछ।’ तर इटन काउन्टी अदालतकी न्यायाधीश जानिस कुनिनघमका अनुसार नासारले पेश गरेको पुनरावेदनमा हालसम्म सही चिकित्सकीय उपचार प्रदान गरेको उल्लेख गरेका छन्।

‘मलाई विश्वास छैन कि तपाईं वास्तवमै आफूले गरेका कार्यहरु गलत थिए भनेर सोच्नुहुन्छ। साथै पीडित तथा उनका परिवारलाई कस्तो असर परिरहेको छ भन्ने बारेमा पनि तपाईंलाई चिन्ता छैन,ु फैसला सुनाउँदै न्यायाधीश कुनिनघमले भनिन्, ‘तपाईं स्पष्ट रुपमा इन्कार गर्नुहुन्छ कि तपाईं यी घटनाहरुमा सामेल हुनुहुन्छ।’

यसअघिको फैसलापछि मात्रै ६५ जनामाथि दुर्व्यवहारको पुष्टि भएको तथा ५४ जनाले गतसाता मात्रै अदालतमा उपस्थित भई बयान दिएको अदालतले जनाएको छ। सोमबार फैसला हुनुअघि मुद्दाको सुनुवाइ तीन दिनसम्म चलेको थियो। यस क्रममा थप पीडितहरुको बयानसमेत लिइएको थियो। बयानका क्रममा नासारमाथि पीडित र तिनका आफन्तले आक्रमणको प्रयास पनि गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org