ताजा समाचार

नारायणगढ–मुग्लिन सडकको मिति तीन महिना थप्ने तयारी, के यो अन्तिम पटक होला ?

चितवन, २६ माघ । नारायणगढ–मुग्लिन सडकखण्डको पछिल्लोपटक थपिएको मिति सकिन लाग्दा पुनः मिति थपको तयारी गरिएको छ । यसअघि तीनपटक गरी १० महिना समय थप गरिएको थियो । अहिले करिब तीन महिना मिति थप्ने तयारी गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार हालसम्म ७४ प्रतिशत काम सम्पन्न भएको छ । फागुन पहिलो साता पछिल्लो पटक थपिएको समय सकिदैँछ ।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण मिति थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षात्को समय, चाडपर्वको समय र थपिएको कामका कारण मिति थप्न लागिएको खनालले बताउनुभयो ।

ठेकेदार कम्पनीले भूकम्पको समयमा तत्कालीन सरकारले एक वर्षसम्म मिति थप्न सकिने जनाएको भन्दै एक हजार चार दिनसम्म मिति थप मागेको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदारले त अस्वाभाविक समय मागेका छन् तर रोकिएको दिनको परिपूर्ति हुने गरी मिति थपिन्छ ।” आउँदो साताभित्रमा मिति थप्ने तयारी आयोजनाले गरेको छ ।

दिउँसो यातायात रोकेर गरिएको काम प्रभावकारी
पछिल्लो समय माघ १३ गतेदेखि दिउँसोको समयमा यातायात रोकेर काम गरिँदै आएको छ । त्यसअघि रातको समयमा सवारी रोकेर काम गरिएको थियो । दिउँसोमा काम गर्दा प्रभावकारी भएको इञ्जिनियर खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले दिनको समयमा सडक रोकेर काम थालिएसँगै कामले पनि गति लिएको छ ।” भित्तो काट्ने र कालोपत्र गर्ने काम सँगसँगै भइरहेको छ । खनालका अनुसार फेब्रुअरी ४ तारिखका दिन एकै दिन करिब एक प्रतिशत काम भएको थियो । एक प्रतिशत भन्नाले करिब रु तीन करोडको काम हुन आउँछ । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org