ताजा समाचार

बिहेभोज खान जाँदा हराएका आचार्यको हत्या, हत्या आरोपमा तीन साथी पक्राउ

बर्दिया, २६ माघ । बर्दियामा साथीको बिहेभोज खान जाँदा हराएका बालकृष्ण आचार्यको शव तीनदिन पछि फेला परेको छ । ठाकुरबाबा नगरपालिका २ पेरहनी गाउँमा साथीको बिहभोज खान जाँदा हराएका १७ वर्षीय आचार्यको शव प्रहरीले तीन दिनपछि भेटेको हो ।

बिहेभोज भएको तीन दिनपछि आचार्यको शव लालबहादुर थारूको बारीमा फेला परेको हो। आचार्यलाई आफ्नै साथीले कुटपिट गरी हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । हत्यामा संलग्न रहेको आरोप प्रहरीले मृतकका तीन जना साथीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ठाकुरबाबा नगरपालिका वडा नं २ कर्मला बस्ने २२ वर्षीय नक्कु भनिने रमेश राजवंशी, सोही ठाउँ निवासी १७ वर्षीय माडे भनिने हरिनारायण दहित र कैलाली जिल्ला जानकी गाउँपालिका वडा नं ६ का २० वर्षीय विकास चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानअनुसार मृतक आचार्यलगायत तीन जना साथीले अत्यधिक मदिरा सेवन गरेको पाइएको छ। उपरीक्षक भट्टराईले थपे, ‘मृतकलाई उनकै साथीहरूले नशाको सुरमा हिर्काएर मारेको अनुसन्धानबाट खुल्न आएको छ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org