ताजा समाचार

यस्तो पनि घटनाः दाइजो नपाएपछि ‘श्रीमानले नै चोरे श्रीमतीको मृगौला’

एजेन्सी, २६ माघ । दाइजो नपाएको निहूँमा कुटपिट गर्ने, जिउँदै जलाउने प्रयास गरिएको भन्ने सबैले सुन्दै आएका छौं । यस्ता घटनाहरु नेपाल भारत लगायत विश्वभरका विभिन्न देशहरुमा घटिरहेका छन् । तर एउटा यस्तो घटना घटेको छ । जुन घटनाले तपाई हामीलाई फेरी एकपटक सोच्न बाध्य बनाएको छ ।

भारतमा एक महिलाको मृगौला चोरी भएको छ । त्यो पनि अरुले भन्दा आफ्नै श्रीमान र देवरले । दाइजो नपाएको निहुँमा आफ्नो एउटा मृगौला चोरेको आरोप लगाउँदै ती महिलाले प्रहरीमा उजुरी समेत दिएकी छन् । पश्चिम बंगालकी महिलाका श्रीमान्‌ले दुई वर्षअघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर व्यवस्था मिलाएका थिए।

सन् २०१७ को अन्त्यमा दुईवटा फरक मेडिकल परीक्षणले उनको एउटा मृगौला नभएको देखाएको थियो । ती महिलाले उनका श्रीमान्‌ले बेलाबेला दाइजोको माग गर्ने गरेको आरोप लगाएकी छन्। दाइजोमाथि भारतमा सन् १९६१ मा प्रतिबन्ध लगाइएको थियो । भारतीय सञ्चारमाध्यमसँग बोल्दै पीडित भनिएकी रीताले भनिन्, आफू दाइजोका कारण वर्षौंदेखि घरेलु हिंसामा पर्दै आएकी छु ।

हिन्दुस्तान टाइम्सले उनलाई उद्धृत गर्दै लेखेको छ, “मेरा श्रीमान्‌ले मलाई कोलकातास्थित निजी नर्सिङ होममा लगे जहाँ मलाई मेरा श्रीमान् र त्यहाँका कर्मचारीले शल्यक्रियाबाट सुन्निएको एपेन्डिक्स हटाए ठिक हुने बताएका थिए।” मेरो श्रीमान्‌ले कोलकातामा भएको उपचारबारे कसैलाई केही नभन्न सचेत गराएका थिए।”

महिनौँपछि उनलाई बिसन्चो भयो र परिवारका सदस्यले उनलाई अस्पताल पुर्‍याए । उपचारका क्रममा उनको दाहिने मृगौला नभएको पत्ता लागेको उनले बताइन् । दोस्रो परीक्षणले उनको मृगौला नभएको प्रमाणित भयो । ‘मैले त्यसपछि बुझेँ किन मेरो श्रीमान्‌ले मलाई यसबारे कसैलाई नभन्नू भनेका थिए’ उनले भनिन् । ‘मेरो परिवारले दाइजोको माग पूरा गर्न नसकेको हुनाले उनले मेरो मृगौला बेचेका हुन्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org