ताजा समाचार

‘जनयुद्ध’ कै शैलीमा विप्लवले गरे देशका विभिन्न स्थानमा एनसेल टावरमाथि आक्रमण

काठमाडौं, १ फागुन । माओवादीहरुले आज २३ औं जनयुद्ध दिवस मनाईरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ठाउँमा आक्रमण गरेको छ । विभिन्न टुक्रामा विभाजित माओवादीहरुले फरक फरक तरिकाले जनयुद्ध दिवस मनाईरहेकै बेला विप्लव पार्टीले नीजि दूरसञ्चार सेवा प्रदायक निकाय एनसेलमाथि आक्रमण गरेको हो ।

विप्लव कार्यकर्ताले ुजनयुद्धुको शैलीमा देशमा विभिन्न ठाउँमा रहेका एनसेल टावरहरुमा आक्रमण गरेका हुन् । उनीहरुले मंगलबार मनाइने २३ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा मध्यरातमा छापामार शैलीमा ठाउँ ठाउँमा आक्रमण गरेका हुन् । विप्लवका कार्यकर्ताले रोल्पा, नुवाकोट, धनकुटा, रामेछाप, भोजपुर लगायतका ठाउँमा आक्रमण गरेका हुन् । रोल्पाको माडी गाउँपालिका-६ कोर्चाबाङ मिनहीमा रहेको एनसेलको टावरमा राति करिव १२ बजे विस्फोट गराएका छन् । कुकर बम विष्फोट हुँदा टावरमा क्षति पुगेको छ ।

नुवाकोटमा टावर ध्वस्त, १५ लाखको क्षतिः
विप्लव कार्यकर्ताले नुवाकोटस्थित एनसेलको रिपिटर टावर पनि ध्वस्त पारेका छन् । विदुर नगरपालिका-११ डाडागाउँस्थित एनसेलको टावरमा सोमबार राति साढे ११ वजे आगजनी गरी ध्वस्त पारिएको हो । सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको एनसेलको टावरमा आगजनी हुँदा टावर पुर्ण ध्वस्त भई १५ लाख बराबरको सामाग्री क्षति भएको नुवाकोट प्रहरीले जनाएको छ ।

रामेछाप र धनकुटामा पनि एनसेलमा आक्रमणः
रामेछाप र धनकुटामा समेत एनसेलको टावरमा आक्रमण भएको छ । रामेछाप नगरपालिकाको भालुखोपडाँडा र दोरम्वा गाउँपालिकाको थापा गाउँमा रहेको टावरमा विप्लवका कार्यकर्ताले क्षति पुर्‍याएका छन् । टावरमा क्षति भएपछि एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लवका कार्यकर्ताले धनकुटा नगरपालिका १० थुम्कीडाँडामा रहेको एनसेलको टावरमा आक्रमण गरेका छन्

भोजपुरको क्रसर उद्योगमा आगो:
उनीहरुले भोजपुरका दुई स्थानमा आगजनी गरेका छन् । भोजपुरको पूर्वी अरुण गाउँपालिका लेगुवाको फेदी बजारमा रहेको एक क्रसर उद्योगमा आगजानी गरेका छन् । आगलागीबाट क्रसर उद्योगमा रहेको भीम पौडेलको एक्साभेटर जलेर नष्ट भएको छ । एक्साभेटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुरकै पौवादुम्म गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा पनि आगजनी भएको छ । त्यहाँ पनि एक्साभेटरमा आगजानी गरिएको हो । कन्काई कन्ट्रकशनको एक्साभेटरमा राति १ः३० बजे आगजानी गरिएको हो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org