ताजा समाचार

कैलाली घटनाका दोषीलाई कारवाही गर्न निर्देशन

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई भएको कुटपिट र अभियुक्तलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

घटना भएको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले तत्काल कारवाहीको पहल गरेको बताइएको छ । यही फागुन २४ गते राधालाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घण्टौंँसम्म कुटपिट गरेको बताइएको छ । प्रहरीले अभियुक्त रामबहादुरलाई छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छाडिएको जनाइएको छ ।

 मानवताविरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई उन्मुक्ति हुन नसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । हाल स्वास्थ्योपचाररत राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने र थप उपचारका लागि उपयुक्त व्यवस्था गर्न सम्बन्धित निकाय अग्रसर भइसकेको जनाइएको छ ।

“नेपाललगायत विश्वले अन्तर्राष्ट्रिय महिलादिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ । यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ । यस्ता आपराधिक घटना भविष्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपनजस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी छ ”
प्रधानमन्त्रीका प्रेस सहयोगी रामशरण बजगाईँले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org