ताजा समाचार

काँग्रेस नेतृत्वलाई सच्चिन आग्रह

काठमाडौँ, २ चैत । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीमा गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।

पार्टीको १३ औँ महाधिवेशनबाट अस्तित्वमा देखिएको सिटौला समूहका आज यहाँ आयोजित नेता कार्यकर्ता भेलामा उहाँले निर्वाचनपछिको अवस्थामा काँग्रेसले नयाँ मार्गचित्रका साथ अघि बढ्नुको विकल्प छैन भन्नुभयो ।

नेता सिटौलाले पार्टीभित्र अहिले पनि सामन्ती संस्कार कायम रहेको बताउँदै “यसलाई हटाउन पार्टीमा व्यावहारिक रुपमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु जरुरी छ,” भन्नुभयो ।

वर्तमान सरकारबाट सर्वसत्तावाद लागू गर्ने संकेत देखिन थालेको बताउँदै उहाँले त्यसलाई रोक्न सशक्त र बलियो काँग्रेसको आवश्यकता औँल्याउनुभयो । आफू सही बाटोमा नहिँडी अरुलाई सही बाटोमा हिँडाउन नसकिने नेता सिटौलाको तर्क थियो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी सुधारका लागि जोखिम मोलेर भए पनि बोल्नुपर्ने र दबाब दिने बेला आएको उल्लेख गर्दै अन्यथा थप मूल्य चुकाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचनमा काँग्रेसले हार व्यहोरे पनि नयाँ संविधानमार्फत मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेर राजनीतिक मुद्दा जितेको जिकिर गर्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीको टिकट वितरणमा पैसावाल र व्यापारी हाबी भएकोप्रति चिन्ता व्यक्त गर्दै पार्टीमा योगदान गरेका र दुःख पाएका कार्यकर्ता कहाँ जाने भनी प्रश्न गर्नुभयो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org