ताजा समाचार

फागुन २२ गतेदेखि हराएकी किशोरीको शव गाडिएको अवस्थामा फेला

वीरगञ्ज, ५ चैत। शव गाडिएको अवस्थामा फेला परेकी जिराभावनी गाउँपालिका १ कि १५ वर्षीया भुट्टी भनिने निधवा धाँगडले आत्महत्या गरेको प्रहरीले बताएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धान र शवको पोष्टमार्टम रिपोर्टले उनको कसैबाट हत्या नभएको देखाएको हो ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले निधवाको हत्या नभएर आत्महत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।

‘किशोरीको हत्या नभएको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको कुरा छ । तर घटना प्रहरीबाट लुकाउन खोजिएको छ’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ । ‘

कानुनी ज्ञान नभएक्ाा कारण प्रहरीसँग डराएर घटना लुकाउन खोजेको जस्तो देखिएको उनको भनाइ छ ।

गत फागुन २२ गतेदेखि गाउँबाट हराएकी किशोरीको शव चैत २ गते फेला परेको थियो । उनको शव ठोरी-५ स्थित गडुवा लाइन आर्मी पोष्टदेखि पश्चिम उत्तर पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र गुहृये खोला नजिकैबाट उत्खनन गरिएको थियो ।

किशोरीको शव गाडेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले घटनास्थललाई नियन्त्रणमा राखेको थियो । त्यसपछि हेटौंडाबाट तालिम प्राप्त कुकुरसहितको विशेष टोली बोलाएर उत्खनन् गरी शव निकालिएको थियो ।

प्रहरीलाई जानकारी नदिई शव गाड्नमा संलग्न ५ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

प्रहरीले किशोरीका बाबु बुधन धाँगड, गाड्नमा सहयोग गर्ने मुनीलाल धाँगड र पनियाँ धाँगड, रामरतिदेवी र बबीकुमारीविरुद्ध मुद्दा चलाएको हो । घटनामा प्रत्यक्ष संलग्न भनिएकी निधवाकी दिदी इन्दवा भने फरार छिन् ।

प्रहरीलाई जानकारी नदिई घटना लुकाउने प्रयास गरिएकोले उनीहरु विरुद्ध मुद्धा चलाइएको पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

‘आत्महत्या गरेपछि घटनाबारे प्रहरीलाई जानकारी गराउनुपर्नेमा त्यसो नगरिएको देखिएको छ’ उनले भने ‘सूचना नदिएर जिम्मेवार नागरिकको कर्तव्य निर्वाह नगरेकोले उनीहरु विरुद्ध कारबाही पक्रिया अघि बढाएका हौं ।’

प्रहरी उपरीक्षक रेग्मीका अनुसार घटना लुकाउनमा संलग्नविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ । ‘कर्तव्य ज्यान त होइना तर ज्यान सम्बन्धी मुद्दा दर्ता गरेका छौं’ उनले भने ।

प्रहरीका अनुसार फागुन २२ गते बिहान निधवा ७ जना महिलाहरुसँग दाउरा टिप्न जंगल गएकी थिइन् । जाने बेलामा उनी रुँदै गएकी थिइन् ।

साथीहरुले किन रोएको भनेर सोध्दा उनले केही बताइनन् । विवाह गरिदिन लागेकोले होला भनेर कसैले वास्ता गरेनन् । जंगल पुगेपछि सबैले आ-आफ्ना लागि दाउरा संकलन गरे । दाउरा संकलन गरिसकेपछि घर र्फकन जम्मा हुने क्रममा सबै जना आइसक्दा निधवा फर्किनन् ।

खोजतलास गर्ने क्रममा उनी त दाउरा बोक्न लिएर गएको पटुकाको पासो लगाएर रुखमा झुण्डिएकी पो रहिछन् । हत न पत्त उनीसँगै गएकी उनकी दिदी २८ वर्षीया इन्दवा धाँगडले डोरी काटिन, सबै मिलेर उनलाई भुइँमा उतारे । उनको सास चल्दै थियो ।

महिलाहरुले अस्पताल पुर्‍याउन सकिन्छ कि भनेर बोकेर दुई किलोमिटर अगाडि ल्याए । उनको सास रोकियो ।

त्यसपछि उनीहरुले शव त्यही छोडेर आएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

सोही दिन बुधनको परिवारलाई घटनाको बारेमा जानकारी भएको भए पनि राति परेकोले कोही गएनन् । भोलिपल्ट निधवाको बाबु बुधन अरु तीन जना सहयोगी लिएर जंगल गएर शव गाडेर आए ।

त्यसको एक सातापछि प्रहरीले जानकारी पायो र शव उत्खनन गरेर निकाल्न सफल भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org