ताजा समाचार

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई वटा बस छुट्यो

काठमाण्डौ, १० वैशाख । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि परीक्षणस्वरुप दुई वटा बस छुटेका छन् । सन् २०१५ जुन १५ मा बंगलादेश–भुटान–भारत–नेपालबीच यातायात सञ्चालन गर्ने बिबिआईएन सम्झौता भए अनुसार उक्त बस सेवा सञ्चालनमा ल्याइएको हो ।

बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कोर्पोरेसनका अध्यक्ष फरिदउद्धिनको नेतृत्वमा तीन देशका ८० जना डेलिगेट काठमाडौंका लागि हिँडेको बंगलादेशका सञ्चार माध्यमहरुले जनाएका छन् ।

ढाकास्थित नेपाली राजदूतावासका उपप्रमुख धनबहादुर ओली र भारतीय उच्च आयोगका प्रथम सचिव गौरव गांगुलीले झण्डा हल्लाएर बसलाई बिदाई गरेको थियो ।

सोमबार बिहान ढाकाबाट हिँडेका बस बिहीबार काठमाडौं आइपुग्नेछन् । अहिले परीक्षणका रुपमा बस चलाइए पनि आवश्यक प्रक्रिया पूरा गरी छिट्टै व्यापारिक प्रयोजनकै लागि बस सेवा सञ्चालन गरिने बंगलादेशका सडक विभागका सचिव नजरुल इस्लामले बताएका छन् ।

ढाकाबाट छुटेको बस बंगलादेशको बंगबन्धु हुँदै भारत–बंगलादेश सीमा फूलबारी भएर सिलिगुडी हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ । ढाका–काठमाडौं सडक दूरी झण्डै एक हजार एक सय किलोमिटर रहेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org