ताजा समाचार

मोदी र देउवाबीच भेटवार्ता

 

काठमाडौँ, २९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री मोदीसँग पूर्व प्रधानमन्त्री देउवाले आज अपराह्न होटल हायातमा भेटवार्ता गर्नुभएको हो ।

भेटमा वरिष्ठ काँग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत, नेता अर्जुननरसिंह केसीलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

दुई नेताबीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाएको भेटपछि नेका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सञ्चारकर्मीलाई बताउनुभयो ।

भारतीय प्रधानमन्त्रीको यसपटकको नेपाल भ्रमणमा धार्मिक पर्यटन र धार्मिक सम्बन्धले बढी चर्चा पाएको उल्लेख गर्दै उहाँले यसले दुबै देशको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उपनेता गच्छदारका अनुसार नेपाली काँग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्धलाई थप सदृढ बनाउने विषयमा समेत दुई नेताबीच कुराकानी भएको थियो ।

भेटमा सभापति देउवाले नेपालको आर्थिक एवं सामाजिक विकासमा भारत सरकारले गर्दैआएको सहयोगका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको थियो ।

सभापति देउवाको भनाइ उद्धृत गर्दै गच्छदारले भन्नुभयो, “राजनीतिक सहमतिमा जारी भएको संविधान कार्यान्वयन गर्दै नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासमा अगाडि बढिरहेको छ ।”

भारतका प्रधानमन्त्री मोदीले नेपाललाई समृद्ध बनाउन यहाँका राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने र यसमा खासगरी युवापुस्तालाई अघि सार्नुपर्ने सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org