ताजा समाचार

साढे ३३ किलो सुनकाण्डका नाइके ‘गोरे’ सार्वजनिक

काठमाडौं ८, जेष्ठ । साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई आज सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलन मार्फत आज उप्रेतीलाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको हो ।  पत्रकार सम्मेलनमा गृहमन्त्रालयका सहसचिव एवं ३३ केजी सुन प्रकरण र सनम हत्या प्रकरण छानविन गर्न गठित टोलीका संयोजक सहसचिव ईश्वर पौडेलले लामो अनुसन्धानपछि गोरे पक्राउ गर्न सफल भएको बताए ।

उनले गोरेलाई मंगलबार विहान ५ः ३४ बजे काठमाडौको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिए । गोरेलाई आजै मोरङ अदालतमा बुझाइने अनुसन्धान टोलीले जनाएको छ ।

गत माघमा नेपाल भित्रिएको ३३ केजी सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन हराएपछि भरिया भनिएका सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो ।
घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन समितिले गोरेसहित ६३ जनाविरुद्ध  जिल्ला अदालत मोरङमा यसअघि नै मुद्दा दायर गरिसकेको छ । यद्यपी गोरे फरार हुँदै आएका थिए ।

बैशाख १८ गते जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएकामध्ये  २९ जना भने पक्राउ परिसकेका थिए   ।  हाल उनीहरुको मुद्दाबारे अदालतमा बहस जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org