ताजा समाचार

किमसँगको वार्ताका लागि तयारी आवश्यक छैन: ट्रम्प

काठमाडौं २५, जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्को साता सिंगापुरमा हुने वार्ताका लागि आफूले धेरै तयारी नगर्ने बताएका छन् ।

जापानी प्रधानमन्त्रीलाई सिन्जो आवेसँग आफ्नो ओभल अफिसमा भेटवार्ता गरेपछि ट्रम्पले किमसँग हुने भनिएको बहुप्रतिक्षित वार्ताका बारेमा आफूलाई तयारी आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।

‘म अहिले पनि राम्रोसँग तयार छु र मलाई लाग्छ मैले किमसँग वार्ताका लागि त्यस्तो तयारी गर्नुपर्दैन’ ट्रम्पको भनाइ उधृत गर्दै साउथ चाइना मर्निङ पोष्टले लेखेको छ, ‘यो आफ्नो दृष्टिकोणको कुरा हो र काम सम्पन्न गर्ने इच्छाशक्तिको कुरा हो ।’

ट्रम्पले आफू यसका लागि धेरै अगाडिदेखि तयार रहेको र उत्तर कोरियाले पनि धेरै अगाडिदेखि तयारी गरेको हुनसक्ने भएकाले तयारी कस्तो छ भन्ने सवाल नै नउठ्ने जापानी प्रधानमन्त्रीसँग बताएका छन् । ‘उनीहरुले निशस्त्रीकरण गर्नुपर्छ’ ट्रम्पले भने, ‘हामीले अहिल्यै प्रतिवन्ध फुकुवा गर्न भने सक्दैनौं ।’

सिंगापुरको भेटवार्ता कति दिन चल्छ भनेर सोधिएको प्रश्नमा ट्रम्पले परिस्थिति हेरेर एकदिनदेखि तीन दिनसम्म वार्ता चल्न सक्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org