ताजा समाचार

सभामुख र उपसभामुख एउटै पार्टिले राख्नु संविधानको उल्लंघन हो: कोइराला

काठमाडौं २५, जेष्ठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले  प्रतिनिधिसभाका सभामुख र उपसभामुख मध्ये एक पद तत्काल छोड्न सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (ने क पा)सँग माग गरेका छन् ।

डा. कोइरालाले संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुवै पद एउटै पार्टीलाई दिन नमिल्ने व्यवस्था गरेको स्मरण गराउदै नेकपाको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभा नियमावली पारित गरेलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस सम्बन्धमा प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीले छिट्टै प्रश्न उठाउने पनि स्पष्ट पारे ।  संवैधानिक व्यवस्था अनुसार एउटै दलबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन नपाउने महामन्त्री कोइरालाको तर्क छ ।

तत्कालीन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख र तत्कालीन एमाले नेतृ डा.शिवमाया तुम्बाहाङफे उपसभामुखमा निर्वाचित भएका थिए । दुई दल एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि ती दुई पद मध्ये एक पद छोडनुपर्ने संवैधानिक व्यवस्था रहेको काँग्रेसको दावी छ ।

यता,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भने सभामुख महरा र उपसभामुख तुम्बाहाङफे दलको सदस्य नरहेकाले उनीहरुले पद छोडिरहन नपर्ने जवाफ दिँदै आएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org