ताजा समाचार

खानेपानी मन्त्री मगरद्वारा संसदमा जवाफ, आगामी तीन वर्षभित्र देशैभर स्वच्छ खानेपानी

काठमाडौँ, २५ असार । खानेपानी मन्त्री बिना मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भए पनि खानेपानीका लागि पनि धेरै जनताले संघर्ष गरिरहनुपरेको बताएकी छिन ।

विनियोजन विधेयकमाथिको छलफलमा संसद सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आधारभूत खानेपानीको पहुँच तीन वर्षभित्र पु¥याउने लक्ष्य किटान गरेर सरकारले कार्यक्रम अघि बढाएको बताइन ।

उनले भनिन्, “खानेपानीका लागि विनियोजन गरेको बजेटलाई विश्लेषण गर्दा न्यायिक भएन कि भन्ने कुरा उठेकै हो, यद्यपि, खानेपानी जनताको मौलिक अधिकारको विषय भएकाले समान वितरणको अवधारणा अघि बढाएका छौँ ।

‘एक घर एक धारा’, ‘एक घर एक शौचालय’ कार्यक्रमको अवधारणालाई अघि बढाउँदै तराईका २१ जिल्लामा ६०० भन्दा बढी आयोजनालाई क्रमागत रुपमा अघि बढाइरहेका छौँ, तराईमा देखिएको आर्सनिक समस्या हटाउने प्रयत्न भएको छ, जनताको आफ्नो लगानीमा खानेपानी भन्ने अवधारणालाई कार्यान्वयनमा लैजान प्रयास भइरहेको, बताइन ।

मन्त्री थापामगरले भनिन, “मुलुकमा सञ्चालनमा रहेका खानेपानी आयोजनाको गुणस्तर सुधार गर्ने कार्यक्रम तीव्ररुपमा अघि बढिरहेको छ, भूकम्प प्रभावित क्षेत्रका जनतालाई स्वच्छ खानेपानी पु¥याउने काम भइरहेको छ, मेलम्ची खानेपानी छिट्टै पूरा गर्ने तथा दोस्रो चरणको याङ्ग्री र लार्केलाई पनि यसैवर्षदेखि अघि बढाइनेछ । आगामी आर्थिक वर्षलाई राष्ट्रिय सरसफाइ वर्षका रुपमा अघि बढाइने छ ।”

चुरे क्षेत्रमा रहेको खानेपानीको समस्या, तराई क्षेत्रमा सुक्दै गएको भूमिगत पानीको स्रोतमा आएको कमीलाई समाधान गर्न स्रोत संरक्षण एवं वर्षात्को पानी संकलन गर्ने कार्यक्रम शुरु गरिएको मन्त्री मगरले बताइन् ।

उनले जनताको सहभागितामा नै खानेपानी भन्ने नीतिका साथ सरकारले खानेपानीको दिगो स्रोत व्यवस्थापनमा ध्यान दिएको, शहरी तथा राजमार्ग क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्नेतर्फ ध्यान दिइएको उल्लेख गरिन् ।

उनले तराई मधेशका जनतालाई आर्सेनिकमुक्त खानेपानी उपलब्ध गराउन सरकारले योजनाबद्धरुपमा कार्यक्रम लागू गरिएको जानकारी दिइन् ।

आगामी वर्ष योजना बनाएर खानेपानी परियोजना अगाडि बढाइएका कारण सबै जिल्ला र स्थानीय तहमा स्वच्छ खानेपानी उपलब्ध गराइने उनको भनाइ छ ।

सांसदहरु प्रेम सुवाल, मीना पाण्डे, पार्वती डिसी चौधरी, अनिल झा, चन्द्रकान्त चौधरीले मन्त्री मगरको भनाइमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गरेका थिए ।

उनले भनिन्, “वर्षायाममा देखिएको पानी प्रदूषणको समस्या निकै जटिल रहेको छ, क्षेत्राधिकारभन्दा बाहिर रहेका मिनरल वाटर र जारको पनि अनुगमन गरिनेछ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org