ताजा समाचार

२३ प्रतिशत घट्यो,दक्षिण कोरिया जाने कामदारको हवाई भाडा

काठमाडाैँ २१,साउन । सरकारले दक्षिण कोरियामा जाने नेपाली कामदारको हवाई भाडा २३ प्रतिशत घटाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इपीएस प्रणालीमार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा २३ प्रतिशत अर्थात् १२ हजार ९ सय ८० रुपैयाँ घटाइएको जानकारी गराएको हो ।

विभागका निर्देशक कृष्णप्रसाद खनालले गत श्रावण २० गतेदेखि लागू हुने गरी सरकारले दक्षिण कोरियामा जाने कामदारको हवाई भाडा करिव १३ हजार रुपैयाँ घटाएको पनि स्पष्ट पारे ।

यस अघि दक्षिण कोरिया जाने नेपाली कामदारहरुले ५ सय ३० अमेरिकी डलर तिर्दै आएकोमा अव ४ सय ११ डलर मात्रै तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो ।

हाल वार्षिक ८ हजारको संख्यामा नेपाली कामदार दक्षिण कोरिया जाने गरेका छन । उनीहरुको हितमा हवाई भाडा दर २३ प्रतिशत घटाउने निर्णय गरिएको पनि विभागका निर्देशक खनालले बताए ।

सरकारले वैदेशिक रोजगारलाई सहज बनाउन आवश्यक निर्देशिका नै बनाएर काम अघि बढाएको छ । दक्षिण कोरिया नेपाली कामदारको आकर्षक गन्तव्यको रुपमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org