ताजा समाचार

आपूर्ति मन्त्रालयको छापा, प्रोबायोटिक इण्डष्ट्रिजमा

काठमाडाैँ २३, साउन ।  निम्बस ग्रुपद्वारा सञ्चालित प्रोबायोटेक इण्डष्ट्रिज प्रालिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको टोलीले छापा हानेको छ ।

वीरगञ्ज पथलैया सडकखण्डको गण्डक चोक नजिकै लिपनीबिर्तामा रहेको उद्योगमा बुधबार मन्त्री यादवको टोलीले छापा हानेको हो ।

प्रोबायोटेक इण्डष्ट्रिज प्रालिले रिफाइनरी, सोयाबिन, सन फ्लावरको खाने तेल उत्पादन गर्दै आएको छ ।

उद्योगले उत्पादन गर्ने तेलमा मिसावट बढी रहेको गुनासो आएपछि मन्त्री यादवले उद्योगको अनुगमन गर्नुको साथै उद्योगले उत्पादन गर्दै आएको तेलको नमूना परीक्षणका लागि लिएर गएका थिए ।

मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले भने नियमित अनुगमनको क्रममा प्रोबायोटिक इन्डष्ट्रिजमा मन्त्री यादव गएको बताए । ‘नियमित अनुगमनको क्रममा मन्त्री  उद्योगमा पुगेका हुन,’ उनले भने, ‘ उद्योगको उत्पादनको नमूना सिलबन्दी गरी परीक्षणका लागि लगिएको छ ।’

उद्योगको प्रदुषण, गुणस्तर र जैविक फोहोर व्यवस्थानमा मन्त्री यादवले बढी जोड दिइरहेको उनको भनाइ छ ।

मंगलबार वीरगञ्जमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला तथा नगर उद्योग संघहरुको राष्ट्रिय भेलामा सहभागी भएर बुधबार काठमाडौं र्फकने क्रममा मन्त्री यादव उद्योगमा छिरेका थिए ।

छापा हानेपछि मन्त्री यादव सिमरा विमनस्थल हुँदै काठमाडौं र्फकेका छन् ।

मन्त्री यादवसँगै नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालयबाट आएका प्राविधिक, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि र सुरक्षाकर्मी पनि उद्योगमा पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org