ताजा समाचार

नेपाली सेनाले बिमस्टेकको सैन्य अभ्यास छोडेर,चीनसँग असोज १ देखि सुरु हुदैछ सैन्य अभ्यास

काठमाडाैँ २४,भदाै । भारतको पुणेमा सोमबारदेखि हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ।

यसअघि पाँच जना अधिकृतसहित ३० जनाको टोली पुणे जाने तय भएको थियो।

‘हामीले पहिला रक्षा मन्त्रालयबाट स्वीकृति लिएरै जान लागेका थियौं। अहिलेसम्म नजानू भन्ने औपचारिक पत्र त आइसकेको छैन,’ सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले सेतोपाटीसँग भने, ‘तर अहिलेसम्म टोली उता गएको छैन।’

काठमाडौंमा भदौ १४ र १५ गते भएको बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रका सैनिकको संयुक्त अभ्यास हुन लागेको जानकारी दिएका थिए।

यसबारे संसदमा प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो सैन्य अभ्यास नभई तालिम भएको बताएका थिए।

‘नेपाल मिलिटरी प्याक्ट भित्र पस्दैन’, ओलीले भने, ‘विश्वास पनि गर्दैन।’

उनले संयुक्त सैन्य अभ्यासबारे बिमस्टेकको काठमाडौं घोषणापत्रबारे उल्लेख नभएको बताए।

बिमस्टेकको सैन्य अभ्यासमा सहभागी हुने निर्णय अपरिपक्व भएको भन्दै आलोचना भएपछि अन्तिम समयमा सरकारले सहभागी नहुन निर्देशन दिएको हो।

यसैबीच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच असोज १ गतेदेखि सैन्य अभ्यास हुने भएको छ।

प्रवक्ता भण्डारीका अनुसार ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करणको अभ्यास दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुमा हुन लागेको हो।

नेपाल र चीनको संयुक्त सैन्य अभ्यास १२ दिनसम्म चल्नेछ।

‘प्रतिआतंकवाद र विपद् व्यवस्थापनमा अभ्यास केन्द्रीत हुनेछ,’ प्रवक्ता भण्डारीले भने।

नेपाल र चीनबीच २०७४ वैशाखमा पहिलो पटक संयुक्त सैन्य अभ्यास भएको थियो।

भारतीय सेनासँग हुने ‘सूर्यकिरण’ सैन्य अभ्यासको तेह्रौं संस्करण गत जेठमा भारतको पिथौरागढमा भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org