ताजा समाचार

पप्पु कन्ट्रक्सनका सञ्चालक रौनियारको नाममा जिल्ला अदालत राैतहटद्वारा पक्राउ पुर्जी जारी

राैतहट १०,असोज । ठेक्का लिएर पनि समयमा काम पूरा नगरेको रेकर्ड बनाएको पप्पु कन्सट्रक्सन प्रालि वीरगन्जका सञ्चालक सुमित रौनियारलाई जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्लाको गौर नगरपालिका–४ टिकुलिया घाटमा रहेको लाल बकैया नदीमा गत भदौ २९ गते डुंगा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका सञ्चालक रौनियारलाई अदालतमा हाजिर हुन पटकपटक बोलाउँदा पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ९ को उफा २ बमोजिम रौनियारलाइ पक्राउ गर्न जिल्ला अदालतसमक्ष माग गरेकोमा अदालतले असोज ४ गते पक्राउ गर्न आदेश जारी गरेको हो ।

निर्माणाधीन पुलको पिल्लरमा ठोक्किएर डुंगा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसकेका कारण दुर्घटना भएकोले कम्पनी दोषी भएको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । निर्माण कम्पनीको चरम लापरबाहीका कारण स्थानीयले अकालमै ज्यान गुमाउनु परेपछि लापरबाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर गरेको स्थानीय युवा विनोद सहनीले बताए ।

मुद्दा दायर भएको एक महिनापछि पनि प्रहरीको आदेश नमान्दै अनुसन्धानका लागि आउन नमान्ने कम्पनीका प्रमुखलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी केदार ढकालले बताएका छन् । उक्त डुंगा दुर्घटनामा परी गौर नगरपालिका–४ की ४५ इन्दुदेवी कुर्मी, गौर–४ टिकुलियाकी ६५ वर्षीया शान्तिदेवी साह र इशनाथ नगरपालिका औरयाटोलकी ३५ वर्षीया रुनादेवी पटेल, गौर–४ की १० बर्षिया बालिका उषमा पटेल र १९ वर्षीय ओमप्रकाश चन्द्रवंशीको मृत्यु भएको थियो । ०७१ साल कात्तिकबाट निर्माणकार्य सुरु गरी गत २०७४ असारसम्ममा निर्माण सम्पन्न हुनुपर्ने पुलको काम पिलरमात्र ठडिएको छ । पुल बनाउने जिम्मा पाएको पप्पु कन्सन्ट्रकसनले म्याद सकिँदासमेत पाँच वटा पिल्लरबाहेक अरु केही बनाउन सकेको छैन । पुल निर्माणका लागि पप्पु कन्ट्रक्सनले १९ करोड ५ लाख १८ हजारमा लिएको थियो । अहिले उक्त पुलमा ६० प्रतिशत काम भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org