ताजा समाचार

लोकतन्त्र होइन लुटतन्त्र रहेछ

सरस्वती पाण्डे/मेरो कार्यक्षेत्र धादिङ भएको हुनाले म गाडी कुर्दै थिएँ । पोखराको बस अगाडि आएर रोक्न खोज्दै कहाँसम्म हो ? भनेर सहचालकले सोधे । मैले टायलघर भनेपछि उनले आउनुस्, आउनुस् भने । म गाडी चढेँ । सीट खाली थिएन । म अगाडिको बर्नेटमा बसेँ। थानकोट कटेपछि सहचालकले भाडा उठाउन सुरु गरे । प्रत्येक सीटका पेसिन्जरहरू भाडा बढि भयो भनेर कराए । सहचालक मेरो छेउमा आएर सीटमा बसेका पेसिन्जरहरूसँग भाडा उठाउन थाले । एउटी अधबैंसे महिलाले २०० दिइन । सहचालकले अब १०० दिनुस् भनेर मागे । ती महिला अस्ति आउँदा १७० मा आएको भाडा फिर्ता आउनुको साटो अझै १०० माग्न लाज लाग्दैन ? भन्दै कराइन । त्यसैगरी अर्की महिलाले ५०० दिइन । सहचालकले १०० फिर्दा दिए । ती महिला पनि रिसले आगो भइन । के गरेको यस्तो भन्दै कराउन थालिन । मैले दुवैलाई कहाँसम्म जाने भाडा दिनुभएको भनेर सोधेँ। एउटी महिलाले घाटबेंंसी र अर्कीले आँबुखैरेनी भनिन् । फेरि मैले भाडा कति हो त्यहाँ सम्मको भनेर सोधेँ । उनीहरूले १७० र २५० एकै स्वरमा भने । मलाई रिस पनि उठ्यो । आधा नै बढि भाडा लिंदा यात्रुलाई मर्का पर्छ नि भाई भन्दा सहचालकले दशैँ हो दिदी भजेर जवाफ फर्काए । म छक्क परें । कमाउनेलाई मात्र दशैँ लाग्दो रहेछ । केही नहुनेलाई त चाडबाडमा दशा लाग्दो रहेछ भनेर अर्की महिला कराउन थालिन । उनले भनिन् ‘ हेर्नुस् नानी बजार गयो पसलेले ठग्छन्, गाडिमा खलासीले ठग्छन् । उनीहरूको र हाम्रो दशैँ उस्तै हैन र ? बल्लबल्ल कमाएको पैसा यसरी बढि माग्छन् । यसो गर्छु, उसो गर्छु भनेर छुट्याएको पैसामा जतासुकै बढि दिन परेपछि कसरी टार्नु घरखर्च ? ती महिला अझै भन्दै थिइन् । म भनें दिदी मेरो ओर्लने बेला भयो भनेर ओर्लें ।

हामी एक नेपालीले अर्को नेपालीको मर्का बुझ्दैनौँ ।हामीमा सहयोगीको भावना छैन । नैतिकताको भावना छैन । दुःख, पीडा, अभावको बेलामा समेत ढुङ्गाको मन बनाएर हेरिबस्ने जमात हामीकहाँ धेरै छन् । विश्वबन्धुत्त्वको भावना र मानवीयताको भावना त हामीकहाँ मरिसकेको छ । स्वर्थ बढेको छ । स्वार्थ त हुनुपर्छ तर आवश्यकभन्दा बढी स्वार्थ भयो भने स्वार्थले द्वन्द्व गराउँछ । द््वन्द्वले सिध्याउँछ । यसलाई हामीले हृदयाङ्ग गर्न सकेनौं भने अवस्था जटिल बन्दै जान्छ । गाडीको अवस्था हेर्दा हामी कस्तो समाजमा हुर्कियौँ ? सम्झदा अचम्म लाग्छ। पाइला–पाइलामा भ्रष्टाचार, ठगी, लुट मौलाइरहेको छ । कोहि बोल्न सक्दैनन्। समाज र राष्ट्रलाई अघि बढाउने ठूला–ठूला सपना बुनेहरू यही समाजमा छन् तर कसैलाई सहयोग गर्नुपर्दा आँखा छलेर हिँड्छौँ । पैसा कमाउनको लागि जे गर्न पनि तयार हुन्छौँ। आज खुसी खुसी बन्न कसैको खुसी लुट्छौँ । भविष्य कसैले सोच्दैनौँ । सोझा र गरिबले सधैं पीडित बन्नुपर्ने हाम्रो समाजमा प्रजातन्त्र आए पनि प्रजाहरूको हितका लागि भने कुनै तन्त्र आएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org