उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन (फोटोफिचर)
काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो ।
उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो । लाखौँ भक्तजनले मङ्गलबार बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अघ्र्य दिएर चार दिन लामो सूर्य उपासना पर्व अन्त्य गरेको छठ पूजा समितिका सदस्य चन्द्रकान्त यादवले राससलाई जानकारी दिए ।
उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरेका थिए । आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । दुई दशक अघिदेखि राजधानीमा शुरु भएको छठमा प्रत्येक वर्ष सहभागी हुने भक्तजनको सङ्ख्या बढिरहेको छ । विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो । हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ । यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन् । तराई र पहाडका मानिसका बीच सामाजिक सद्भाव बढाउने पर्वका रुपमा छठ स्थापित हुन थालेको छ ।
आज बिहान छठ सकिएपछि नदी किनारमा सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । सफाइमा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने बताइएको छ । छठ मनाउने क्रममा फोहर जम्मा भएकाले चार दिनसम्म निरन्तर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा सफाइ अभियान चलाइने अध्यक्ष पुडासैनीले बताउनुभयो । भक्तजनलाई मञ्चले नदीको सौन्दर्यता नबिग्रने गरी पर्व मनाउन आह्वान गर्दै माइकिङसहित जनचेतनामूलक अभियान चलाएको थियो ।
पोखरा– उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै पोखरामा छठ पर्व आज विधिवत रुपमा सम्पन्न भएको छ । जलाशयको किनारमा छठ पूजाका लागि राखिएका ठेकुवा, भुसुवा, केरा, मिठाई, उखुलगायतका प्रसाद सूर्यदेव र षष्ठी माता अर्थात् छठी मातालाई अघ्र्य अर्पन गरेपछि पर्व सम्पन्न भएको हो ।
पोखराको फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्र र सेती गण्डकी र कालीखोलाको दोभानमा रहेको रिट्ठाघाटमा ब्रतालुले विधिपूर्वक छठ पुजन सम्पन्न गरेका हुन् । यी पर्व हेर्नका लागि ठूलो सङ्ख्यामा पोखरेली पूजास्थलमा पुगेका थिए । मधेशी समुदायमा मात्र सीमित रहेको यो पर्व केही वर्षदेखि पहाडी समुदायमा पनि आफ्नो प्रभाव विस्तार गर्दै गइरहेको देखिन्छ ।
बुटवल– रुपन्देहीको शुद्धोद्धन गाउँपालिका–१ घमाहा खोलामा उल्लासपूर्ण वातावरणमा छठ पर्व सम्पन्न भएको छ । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसेको स्थानीयवासी सेतही लोधले बताएका छन् ।
छठ पूजा गर्ने स्थल ध्वजापताकाले सजाइएको थियो । राम्रा र सुकिला लुगा लगाएर खोलामा पानीभित्र रहेर महिलाले सूर्यदेवको आरधाना गर्दै अघ्र्य दिएर दीप प्रज्जवलन गरेका थिए । छठ पर्व यस क्षेत्रमा सात वर्षदेखि मनाउन थालिएको स्थानीयवासी दौलती लोध बताउछन । उहाँले भन्नुभयो, “श्रीमानको लामो आयु र आरोग्य तथा सुस्वास्थ्यका लागि छठ मनाइन्छ ।
जनकपुरधाम– आस्थाको महापर्व छठका ब्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । ब्रतालुले गङ्गासागर र अरगजा लगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।
अघ्र्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । छठको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो ।
अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । धनी, गरीब एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।
आफ्नै खेतवारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यस पर्वको थप मौलिकता विशेषता हो । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुकासाथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि ब्रतालुले यस पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नववस्त्रमा सजिएका श्रद्धालुको भीड लागेको थियो ।
रासस
तस्बिरहरुः
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












