ताजा समाचार

‘लगानी प्रदेशको प्राथमिकताका क्षेत्रमा हुनुपर्छ’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एशियाली विकास बैंक ‘एडिबी’को लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा हुनुपर्ने बताएका छन् ।

एशियाली विकास बैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति ‘२०२०–२०२४’ का सन्दर्भमा वीरेन्द्रनगर, सुर्खेतमा सोमबार आयोजित ‘सङ्घीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालसँगको छलफल तथा परामर्श’ कार्यक्रममा मुख्यमन्त्री शाहीले विगतको जस्तो नभई हाल सरकारले लिएका प्राथमिकताका क्षेत्रमा लगानी हुनुपर्नेमा जोड दिए ।

“कर्णाली प्रदेशमा सडक, विद्युत्, उद्योग, पर्यटन र कृषि क्षेत्रका बृहत परियोजनामा लगानीको आवश्यकता छ”, उनले भने, “एशियाली विकास बैंकको आगामी रणनीति यसतर्फ केन्द्रित हुनुपर्छ ।” कार्यालयको कागजे कामले कर्णालीको विकास सम्भव नभएको उनको भनाइ थियो । “तपाईंहरूले देखिने गरी पूर्वाधारका क्षेत्रमा लगानी गरिदिनोस्, तत्काल सम्भव भएसम्म कोहलपुर–सुर्खेत सडकलाई ६ लेनको बनाइदिनुस,” उनले भने ।

एशियाली विकास बैंकले नेपालमा ठूलो मात्रामा लगानी गरेको भए पनि त्यसको परिणाम नदेखिएको भन्दै उनले नेता र पहुँचको आधारमा टुुक्रे योजनामा गरिने लगानीले कर्णालीको समृद्धि नहुने तर्क राख्नुभयो । एउटा मात्रै भए पनि पूर्वाधारको क्षेत्रमा लगानी भएमात्र त्यसको परिणाम देखिने उनको भनाइ थियो । “कर्णालीको विकासका लागि द्रूतमार्ग अपरिहार्य छ,” उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org