ताजा समाचार

अस्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमण

काठमाडौं । अष्ट्रेलिया पुगेका एक नेपालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनी फेब्रुअरी २६ मा नेपालबाट अष्ट्रेलिया पुगेका थिए ।
अष्ट्रेलियाको तस्मानिया बसोबास गर्ने नेपाली नागरिकलाई कोरोनाको संक्रमण भएको हो । उनी सिंगापुर र सिड्नी ट्रान्जिट भएर तस्मानिया पुगेका थिए ।

शुक्रबार रोयल होबर्ट अस्पतालमा परीक्षण गरिएको थियो । आइसोलेसनमा बस्न अस्वीकार गरेका उनको शनिबार प्राप्त रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनलाई अहिले आइसोलेसनमा राखिएको छ ।

तस्मानियाका जनस्वास्थ्य निर्देशक डाक्टर मार्क भेइचले आइसोलेसनमा बस्न नमान्ने ती व्यक्तिको हर्कत अस्वीकार्य भएको जनाएका छन् । उनी आइडिल कलेजका विद्यार्थी भएको अष्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् ।

अष्ट्रेलियाका स्वास्थ्य अधिकारीले ती नेपालीको सम्पर्कमा आएका अन्य व्यक्तिलाई पनि निगरानीमा राखिएको बताएका छन् । तीनजना घरमा बस्ने साथीहरु र अर्को एकजना व्यक्तिलाई नजिकको सम्पर्कमा आएको व्यक्तिका रुपमा ठानिएको छ । उनीहरुलाई आइसोलेसनमा बस्न भनिएको छ ।

नेपालबाट गएका भनिएका यी व्यक्तिलाई कोरोना संक्रमण कहाँ भयो भन्नेबारे केही खुलेको छैन । साथै उनी को हुन् भन्नेबारे पनि जानकारी दिइएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org