ताजा समाचार

धादिङका शिक्षकलाई कोरोना प्रशिक्षण

सरस पाण्डे/ काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति धादिङले जिल्लामा कार्यरत शिक्षकहरूलाई विश्वव्यापी संक्रमणको रूपमा फैलिरहेको कोरोना भाइरस सम्बन्धी प्रशिक्षण दिएको छ ।

फागुन २३ र २४ गते जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण तथा शैक्षिक अन्तरक्रिया कार्यक्रममा कोरोना भाइरस र त्यसको आतंकका बारेमा बृहत् छलफल गरिएको थियो ।

जिल्लाका १३ वटै पालिकाका शिक्षकहरूको बृहत् उपस्थिति रहेको कार्यक्रममा जिल्ला अस्पतालमा लामो समयदेखि सेवारत कृष्णलाल उप्रेतीले कोरोना भाइरस सम्बन्धी सजग रहन अनुरोध गर्दै शिक्षकहरूलाई प्रशिक्षण दिए । उनले माहामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरस सम्बन्धी सचेत रहन आग्रह गरे ।

सावुन पानीले हात धुने, माछमासु, तरकारी राम्रोसँग पकाएर खाने, उमालेर मात्रै पानी पिउने, घाममा बस्ने, बाहिर निस्कदा मास्कको प्रयोग गर्ने, बच्चालाई न्यानो बनाएर राख्ने, रुघाखोकी लागेमा घरायसी औषधी प्रयोग गर्ने, ज्वरो आएर फ्लु जस्तो संकेत देखा परे अस्पताल जाने, भिडभाडमा नजाने, अरूले प्रयोग गरेको रूमाल प्रयोग नगर्ने जस्ता चेतनामुलक भनाइ कार्यक्रमा उप्रेतीले राखेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्मा, सचिवालय सदस्य कमला थापा र महासचिव हंसबहादुर शाहीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि, नेतृत्व सीप विकास तथा प्रविधिमैत्री शिक्षण सिकाइ क्षमता विकास र कोरोना भाइरसको विषयमा प्रशिक्षण दिए ।

राष्ट्रिय अध्यक्ष शर्माले शिक्षकले किताबी ज्ञानमात्र नभइ सीपमुलक र व्यवहारिक ज्ञान दिनुपर्ने बताए । उनले भने, ‘हामी शिक्षकले किताबी ज्ञानमात्र दिने नभई सीपमूलक, व्यवहारिक, नैतिक शिक्षा दिंदै समसामयिक कुराहरूमा पनि विद्यार्थीलाई जानकार गराउनुपर्छ ।’

शिक्षकले लामो समयसम्म विद्यालय बन्द गर्न नहुने भन्दै यो अन्तिम परीक्षा पश्चात विद्यार्थीहरू विद्यालय विदा भएपछि घुम्न जाने, आफन्तकोमा जाने चलनले गर्दा झनै भाइरसबाट बच्न गाह्रो हुने त्यसकारण विद्यालय समयमा खोल्नु पर्ने र शिक्षकहरूले विद्यार्थीहरूलाई डरबाट मुक्त गराएर मोटिभेसनमुलक शिक्षा प्रदान गर्नुपर्ने शर्माले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org