ताजा समाचार

गोंगबु घटना : ‘हत्यामा संलग्‍न’ साली लिन चितवनबाट एम्बुलेन्स लिएर आएका थिए ‘भिनाजु’

काठमाडौँ । गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेपश्चात कल्पना शाहीले एम्बुलेन्स चालकलाई बोलाएर चितवन भागेको खुलेको छ ।

३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको प्राविधिक अनुसन्धानमा  खुलेको छ  ।

अनि एम्बुलेन्स लिएर कल्पनालाई लिन चितवनबाट भिनाजु गोंगबु आउँछन् । ती एम्बुलेन्स चालकलाई कल्पना ‘भिनाजु’ भनेर सम्बोधन गर्छिन् । एम्बुलेन्स चालक नाताले वा सम्बोधनमा मात्रै भिनाजु हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन ।

कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना आइतबार १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भागेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो । एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका हुन् ।

कल्पना श्रीमानसँग अलग भएर छुट्टै बस्दै आएकी थिइन् । कल्पनालाई चितवनबाटै पक्राउ गरेर काठमाडौं ल्याइएको छ । केहीबेरमा उनलाई सार्वजनिक गर्ने प्रहरी तयारी छ । स्रोतका अनुसार कल्पना र कृष्णबहादुरको पहिलेदेखि नै आउजाउ थियो । एकापसमा दुवै परिचित थिए ।

अफगानिस्तानलगायत मुलकमा बसेर आएका कृष्णबहादुर काठमाडौंमै व्यापार व्यवसाय गर्ने तयारीमा भएको बताइए पनि यसको पनि यकिन भइसकेको छैन । कृष्णबहादुर हत्या भएको दिन राति कल्पनाकै कोठामा बस्न गएका थिए । यसबाट पनि उनीहरुबीच निकट सम्वन्ध रहेको बुझ्न सकिन्छ ।

 

यद्यपि दुई जनाबीच कुन किसिमको सम्बन्ध भन्नेबारे खुलाइएको छैन । आर्थिक लेनदेन वा अरु विवादले हत्याको रुप लियो भन्ने पनि खुलेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org