ताजा समाचार

ओली–प्रचण्ड छलफल सकियो, सचिवालय बैठक भदौ १३ मा बस्‍ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटघाट र छलफलले सचिवालयको मिति तय गरेको हो ।

सचिवालय बैठक भदौ १३ गतेलाई तय भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पीएसओसहित सुरक्षा गार्डलाई कोरोना सङ्क्रमण देखिएपछि होम क्‍वारेन्टिनमा छन् । १३ गतेको सचिवालय बैठकमा उनी उपस्थित नहुने स्रोतको भनाइ छ ।

दुई अध्यक्षबीच आज भएको छलफलमा भदौ ६ गते महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको थियो । अध्यक्षद्वयले यसलाई प्रस्ताव बनाएर सचिवालयमा पेस गर्ने कार्यसूची छ ।

अब बस्‍ने सचिवालयले स्थायी कमिटी बैठकको मिति तोक्ने छ । स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरूद्ध छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org