ताजा समाचार

भागभन्डा मिलाउन मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीकाे तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भागभन्डा मिलाउनकै लागि मन्त्रालय फुटाएर केही मन्त्री थप गर्ने तयारी थालेका छन् ।

मन्त्रालय फुटाउने विषयमा पार्टीभित्र सैद्धान्तिक सहमति समेत गरिसकेका प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फुटाृएर भौतिक तथा पूर्वाधार र यातायात मन्त्रालय छुट्टाछुट्टै मन्त्रालय बनाउने तयारी गरेका छन् । यातायात मन्त्रालय अन्तर्गत रेल विभाग, पानी जहाज, यातायात विभाग रहनेछन् ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई फुटाएर उद्योग मन्त्रालय र वाणिज्य तथा आपूर्ती मन्त्रालय बनाउने तयारी प्रधानमन्त्री ओलीले थालेका छन् । साथै प्रधानमन्त्री मातहत रहने गरी एक मन्त्रालय थप्ने तयारी रहेको छ । अब विस्तारित हुने मन्त्रिपरिषद्मा नेकपाको सचिवालय बैठकले विवाद समाधान गर्ने उपाय सिफारिस गर्नका लागि बेनको कार्यदलका सदस्यलाई मन्त्री बनाउने गरी तयारी थालेको छ ।

हाल सुचना तथा सञ्चार मन्त्रालय र सहरी विकास मन्त्रालय खाली रहेको छ ।  यसअघि पनि कृषि विकास, पशुपन्छी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर प्रधानमन्त्री ओलीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो । पछि पुनः मन्त्रालय फुटाएपछि मन्त्रालयको संख्या २१ बाट २२ वटा रहेको थियो । दुई वटा मन्त्रालयलाई फुटाएर मन्त्रिपरिषद् पुन गठन गरेसँगै अब मन्त्रालयको संख्या २५ वटा रहनेछ ।

संविधानले प्रधानमन्त्रीलाई २५ जनासम्म रहनेगरि मन्त्रीपरिषद् गठन गर्न सक्ने व्यवस्था गरेकाे छ । जसमा प्रधानमन्त्रीसहित उपप्रधान,मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री हुन्छन् भनी संविधानमा स्पष्ट व्यवस्था गरिएको छ । राजनीतिक भागवण्डाका पुर्याउन जथाभावी मन्त्रालय बनाउने विकृती बढेपछि संविधानमा नै मन्त्रालयकाे संख्या किटान गरिएकाे हाे ।

नेपालकाे राजनीतिक इतिहासमा कुनै बेला ५१ सदस्यीय मन्त्रिपरिषद समेत गठन भएकाे थियाे ।  यसअघि पनि भागभन्डाका कारण विज्ञान तथा प्रविधि मन्त्रालय मात्र हालसम्म ६ पटक गठन तथा पुनःगठन भएको थियो । २०३९ मंसिर २० गते विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका रूपमा गठन भएको यो संस्था ०५३ जेठ २ गते विज्ञान तथा प्रविधि मन्त्रालयका रूपमा गठन भएको थियो ।

०६१ चैत १८ मा पुनःगठन हुँदै वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय बनेको यो मन्त्रालय ०६६ जेठ २९ मा पुनः विज्ञान तथा प्रविधि मन्त्रालय बन्यो । ०६९ जेठ ५ गते पुनः विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय बनेको यो मन्त्रालय ०७२ पुस ९ मा पुनः फुटेर विज्ञान तथा प्रविधि मन्त्रालय बनेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org